बालेनको सचिवालयले भन्यो- सुत्केरी मेयरपत्नीमाथि प्रहरीले अनावश्यक केरकार गर्यो
काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निजी सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेमाथि प्रहरीले चेकजाँचका नाममा अनावश्यक केरकार गरिएको बताएको छ ।
शनिबार राति फेसबुकमार्फत आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार भनेर लेखेका थिए।
तर उनले महानगरको गाडी कसले र किन रोकेको थियो भन्ने खुलाएका थिएनन् । बालेनको सार्वजनिक आलोचना भएपछि आइतबार उनको सचिवालयले विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी गराएको छ ।
विज्ञप्तिमा हिजो बेलुकी ७ बजे सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता आएर जोखिमयुक्त स्थिति देखिएको थियो । उनलाई काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर अस्पताल लगिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमाको पूण विवरण यस्तो छः
विभिन्न सञ्चार माध्यममा काठमाडौं महानगरपालिका प्रमुख र उहाँकी धर्मपत्नी सबिना काफ्लेलाई सरकारी सवारी साधन उपयोगको विषयसँग जोडेर प्रकाशन / प्रसारण भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
२०८० भाद्र १६ गते बेलुका ७ बजे सुत्केरी अवस्थामा रहनुभएका सबिना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको र सुरक्षाका दृष्टिकोणले समेत नगरप्रमुख र वहाँकी धर्म पत्नीलाई प्रयोग गर्न गृह मन्त्रालयले सहमति दिएको काठमाडौं महानगरपालिकाको सरकारी गाडी प्रयोग गरेर सबिना काफ्ले अस्पताल जानुभएको थियो ।
यो पनि पढ्नुस्
आजबाट महानगरको गाडी सरकारले रोक्यो भने सिंहदरवारमा आगो लगाइदिन्छु : मेयर बालेन्द्र साह
आफ्नो स्वास्थ्य परीक्षण र एनआइसीयु (NICU) मा भर्ना रहेको शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ०९:०० बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरु सवारी चेकजाँच गर्दै थिए । त्यस जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको व्यहोरा जानकारी गराए ।
सवारीचालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषय समेत अनुरोध गरे । नगर प्रमुख सहितको परिचय खुलाए पश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो ।
प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे । सवारी जाँच गर्ने विधि र प्रक्रिया अवलम्वन नगरी प्रहरीले ढोका खोल, के हो ? कहाँ हो ? यस्तो त्यस्तो गर्ने भन्दै पछिल्लो सिटमा सवार सुत्केरी सबिना काफ्लेलाई अनावश्यक केरकार गरेको थियो । प्रसव पीडा र शारीरिक समस्यामा एवम् नवजात शिशुको स्वास्थ्य अवस्थाले चिन्तित रहेकी महिलामाथि कर्तव्य पालना गर्न बसेका प्रहरीबाट गरिएको यस प्रकारको असभ्य व्यवहार अत्यन्त निन्दनीय तथा खेदजनक छ ।
सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आम नागरिक विश्वस्त हुन सक्नु पर्छ । प्रहरीबाट सबै सधैँ सुरक्षित हुन्छन्, भन्ने विश्वास जगाउनु पर्छ । कर्तव्य पालनाका क्रममा मादक पदार्थ, गुट्खा लगायत सूर्तीजन्य पदार्थ सेवन गर्ने, सवारी साधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो । कानुनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सबिना काफ्लेलाई अस्वभाविक प्रश्न गरिएको थियो ।
आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि मैले चाहे भने यतै राख्न सक्छु” भनेर धम्की दिने, कुनै ठुलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ । यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरुलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेकोमा खेद समेत प्रकट गर्न चाहन्छौ । यस्तो आचरणमा रहेका केही प्रहरीका कारण समग्र प्रहरीको सार्वजनिक छविमा आँच आउन सक्छ । पटक पटक आम सर्वसाधारण जनताले प्रहरी प्रशासनबाट यस्ता व्यवहार र सास्ती खेप्नु परेको कुरा सर्वविदितै छ तर पनि सम्बन्धित निकायबाट यस्तो प्रवृतिको अन्त्य गर्न कोही कहिले अग्रसर देखिएन ।
यसर्थ, गलत आचरण भएका केही प्रहरीहरू माथि निगरानी गर्न, गल्ती गर्नेलाई कानुनी कारवाहीको प्रक्रियामा ल्याएर प्रहरीको छवि उच्च बनाइ राख्न हामी सरकार र ट्राफिक प्रहरीलाई आग्रह गर्न चाहन्छौं ।
अन्त्यमा, मानवीय संवेदनासँग जोडिएका यस्ता विषयमा समाचार सङ्कलन, प्रकाशन / प्रसारण गर्नुअघि मानवीयताका कोणबाट विषयलाई हेर्न, यसले व्यक्ति तथा परिवारको मानसिक अवस्थामा पार्ने नकारात्मक असरप्रति पूर्वानुमान गर्न आमसञ्चारकर्मीहरुमा आग्रह गर्दछौं ।
धन्यवाद ।