सम्झनामा सुवास नेम्वाङ- मैले फोनमा पर्सी भेटौँला भने, तर गुमाउनुपर्छ भन्ने सोचेको थिइन : विष्णु पौडेल

No ads found for this position
No ads found for this position

काठमाडौं- संविधान सभा अध्यक्ष, पूर्व सभामुख, नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ गते बिहान निधन भयो । बालुवाटारस्थित निजी निवासमा ज्वरो आएपछि आराम गरिरहेका उनको निधनलाई बिहानसम्म नै कतिपयले विश्वास गरेनन् । तर छर्लङ्ग उज्यालो भएपछि वास्तविकतालाई स्वीकार्नुको विकल्प रहेन ।

इलाम-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य नेम्वाङको हृदयघातका कारण निधन भएको छ । घरमै शौचालयमा बेहोस अवस्थामा परिवारका सदस्यले फेला पारे लगत्तै उनलाई अस्पताल पुर्‍याएपनि त्यो बेलासम्म धेरै ढिला भइसकेको थियो । अस्पतालमा चेकजाँच गर्दा नेम्वाङले मृत्युवरण गरिसकेका थिए ।

सामान्य ज्वरो आएर घरमै आरम गरिरहेका उनको मृत्युको खबर पत्याउन कठिन नै थियो । यस्तै अविश्वास नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पनि भयो । उनले पनि विश्वास गरेनन् । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले नेम्वाङको निधनलाई लिएर दुःख व्यक्त गरे ।

सोमवार दिउँसो आफू संसदीय दलको कार्यालयमा जाँदा उपनेता नदेखेपछि फोन सम्पर्क गरेर उपाध्यक्ष पौडेलले बझे । फोनमा स्वर कमजोर सुनेपछि स्वास्थ्य अवस्थाबारे बुझ्दा आफू अस्वस्थ भएको जवाफ स्व. नेम्वाङले दिएको पौडेल सम्झिए । फोनमा अस्वस्थ भनिसकेपछि आफूले आराम गर्न र औषधि सेवन गर्न आग्रह गर्दै अर्को दिन भेट्ने वाचासहित फोन राखेको उनको भनाइ छ । तर अस्वस्थ भनिसकेपछि उनलाई घरमै गएर आफूले भेट्नुपर्नेमा भेट गर्न नसपाएकोप्रति पश्चताप पौडेललाई छ ।

प्रश्तुत छः न्युज एजेन्सी नेपालले स्व.नेम्वाङका बारेमा एमाले उपाध्यक्ष विष्णु पौडेलसँग गरेको कुराकानीको सम्पादित अंश

समाजका सबै राजनीतिक दल र सबै आस्थाका नागरिकको विश्वास जित्नुभयो

आजको दिन नेपालको राजनीतिक इतिहासमा अत्यन्त पीडा, दुःखको दिनका रुपमा रहनेछ । संविधान सभाका अध्यक्ष,नेकपा एमालेका उपाध्यक्ष २०४८ सालदेखि अविछिन्न रुपमा सर्वोच्च जनप्रतिनिधि संस्थामा प्रतिनिधित्व गर्दै आउनुभएका सफल र असल जनप्रतिनिधि हुनुहुन्थ्यो । जसले लोकतन्त्र प्राप्तिको आन्दोलनमा राष्ट्रिय स्वाधिनताका निम्तिको आन्दोलनमा जनताका सरोकारका माग र मुद्दाका निम्ति आन्दोलनमा अत्यन्त महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयो । सामाजिक न्याय, समृद्धि र समाजवादतर्फको यात्रालाई गतिका साथ अघि बढाउन योगदान दिनुभयो ।

सर्वोपरि रुपमा सात दशक लामो संघर्षको जगमा उभिएर हामीले जुन संविधान निर्माण गरेका छौँ, त्यो संविधान लोकतान्त्रिक, जनमुखी र अग्रगामी अन्तरवस्तु सहितको संविधान निर्माण गर्नका निम्ति उहाँले असाध्यै महत्वपूर्ण भुमिका निर्वाह गर्नुभयो । नेपाली जनताको प्रिय नेता, नेपाली जनताको प्रिय प्रतिनिधि हुनुहुन्थ्यो । कुनै एमाले मात्रैको होइन । उहाँले समाजका सबै राजनीतिक दल, सबै आस्थाका नागरिकको विश्वास जित्नुभयो । त्यस्तो जनताको प्रिय प्रतिनिधिलाई हामीले आज गुमाएका छौँ ।

यो अत्यन्त पीडा र दुःखको क्षण हो । म आज कम्रेड सुवास नेम्वाङप्रति उहाँले नेपाली जनताको पक्षमा, राष्ट्रको पक्षमा जुन योगदान दिनुभयो, त्यसकाप्रति उच्च आदरकासाथ स्मरण गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । उहाँका असल विचार र असल अभ्यासलाई अनुशरण गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

सबैको मनमा घर बनाउनसक्ने असाधारण खुबी
यो पीडालाई मैले शब्दमा व्यक्त गर्न सक्दिन । उहाँ सबैको प्रिय हुनुहुन्थ्यो । सायद उहाँका कोही वैरी थिए भन्ने मलाई लाग्दैन । त्यस्तो सबैको प्रिय हुनसक्ने सबैको विश्वास जित्नसक्ने सबैको मनमा घर बनाउनसक्ने त्यो असाधारण खुबी उहाँसँग थियो । व्यक्तिगत रुपमा म उहाँसँग नजिकको सम्बन्धमा रहेँ । उहाँ सँगको सम्बन्ध, उठाबसी, सहकार्य,अनुभव, आदानप्रदानका अनुभुतिहरु मेरो मानसपटलमा तरंगित भइरहेका छन् । उहाँको अनुपस्थिति स्वीकार गर्न हामी बाध्य छौं । तर मनले उहाँको अनुपस्थिति स्वीकार गर्न सकिरहेको छैन, यो पीडालाई व्यक्त गर्ने शब्द शब्दकोषमा कतै छैन ।

आगोरुपी मनलाई पगाल्नसक्ने शालिनता
सुवास नेम्वाङमा शालिनता एउटा ठूलो शक्ति थियो । सामथ्र्य थियो । कुनै आगोले पगाल्न नसक्ने मनलाई उहाँको शालिनताले पगालि दिन्थ्यो । कस्तो अभ्यासले पग्लिन नसक्ने मनहरु उहाँको शालिनतापूर्ण व्यवहार र प्रश्तुतीबाट उहाँका तर्कपूर्ण प्रश्तुतीबाट पग्लिन्थे । त्यो उहाँको विशेषता नै हो । त्यसका साथै उहाँमा जहिले पनि जस्तोसुकै अवस्थामा पनि सकारात्मक सोचका साथमा अघि बढ्नुहुन्थ्यो ।

प्रतिकुलतालाई उहाँले सहज ढंगले लिने र सामना गर्दै अघि बढ्ने, प्रतिकुल भन्दा प्रतिकुल परिस्थितिमा पनि सकारात्मक सम्भावनातर्फ अघि बढ्ने, सकारात्मक सोचका साथ अघि बढ्ने गर्नुहुन्थ्यो । उहाँ जस्तोसुकै विषम परिस्थितिमा पनि जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि उहाँ निराश भएको पाएनौँ, निष्क्रिय भएको पाएनौँ । उहाँ परिस्थितिलाई बुझ्ने खुबी उहाँसँग थियो । जहिले पनि अघि बढ्नका लागि कुन स्थितिमा कसरी अघि बढ्न सकिन्छ ? भन्ने विषयमा उहाँ सही र उचित निस्कर्ष निकाल्दै अघि बढ्नुहुन्थ्यो ।

निजी निवासमा गएर स्वास्थ्य लाभको कामना गर्न नसक्दा पश्चताप
मैले हिजो दिउँसो मात्रै उहाँसँग फोनमा संवाद गरेको थिएँ । म सिंहदरबार जाँदै थिएँ । प्रायः उहाँ सिंहदरबारमा दलको कार्यालयमा दलको उपनेताको कार्यकक्षमा प्राय हुनुहुन्थ्यो । मैले उहाँ दलको कार्यालयमा हुनुहुन्छ भने भेट्नपर्ला भनेर फोन गरेँ । मैले दिउँसो सवा २ बजेतिर फोन गरेको थिएँ । फोन गर्दा उहाँको स्वर भारी भएको सुनियो । मैले स्वास्थ्य ठिक छैन की के हो ? भनेर सोधेँ । उहाँले असहज र अस्वस्थ भएको बताउनु भयो । मैले आराम गर्न र औषधि खान आग्रह गरेँ । भोलिपर्सी भेटौँला भने । उहाँले औषधि खाएर आराम गर्नेकुरा बताउनु भयो । उहाँलाई यसरी गुमाउनुपर्छ भन्ने अनुमान गर्न सकिने अवस्था रहेन ।

मलाई पश्चताप छ की म दलको कार्यालयबाट उहाँको निवासमा गएर उहाँको स्वास्थ्य लाभको कामना गर्नुपर्दथ्यो । डाक्टरसँग भएको कन्सलटेसनबाट जानकारी लिनु पर्दथ्यो । त्यो गर्न सकिनँ चुकेँ भनेर पश्चताप मशसुस भएको छ ।

आफ्ना समस्या आफैँ समाधान गर्ने व्यक्ति
उहाँ खासगरी सुगर प्रेसर लगायतका कतिपय विषयमा औषधि सेवा गर्नुहुन्थ्यो भन्ने जानकारी हामीलाई छ । तर त्यस्तो उहाँले आफ्नो बारेमा, आफ्नो समस्याका बारेमा पार्टीलाई जानकारी दिनुभएन । उहाँ आफ्ना समस्या आफैँ समाधान गर्दै अघि बढ्नुपर्छ, भन्ने सोच राख्नुहुन्थ्यो । त्यस्तो कुनै गम्भीर अस्वस्थताको अवस्था हो भन्ने हामीले अनुमान गर्न सकेनौँ । नियमित औषधि सेवा गर्दै उहाँ अघि बढिरहनुभएको थियो । अस्वस्थताको अवस्था यति गम्भीर हो भनेर हामीले अनुमान गर्न सकेनौँ ।

राष्ट्रिय राजनीति र संसदीय राजनीतिमा लामो समयसम्म अभाव खड्किनेछ
पूर्वसभामुख र संविधान सभा अध्यक्ष, त्यो सभाको नेता, मुख्य नेताको जिम्मेवारी हो । सभामुखको, संविधान सभा अध्यक्षको जिम्मेवारी । त्यो जिम्मेवारी उहाँले अत्यन्त कुशलता, उत्कृष्टताकासाथमा पूरा गर्नुभयो । उहाँ जुन दलबाट प्रतिनिधित्व गरेर संविधान सभामा निर्वाचित हुनुभएको थियो, जुन दलबाट प्रतिनिधित्व गरेर प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । त्यो दल पनि उहाँसँग धेरै खुशी भएन ।

प्रतिपक्ष पनि उहाँसँग कुनै नाखुश भएनन् । त्यो खालको विशिष्ट खुबी उहाँसँग थियो । उहाँले सदन प्रतिपक्षको हो, सदनमा प्रतिपक्षको आवाज मुखरित हुन दिनुपर्छ, भन्नेकुरामा उहाँको विशेष ध्यान जान्थ्यो । सत्तापक्ष र प्रतिपक्षका बीचमा अनावश्यक र अनुचित दुरी नबनोस्, उनीहरुका बीचमा एउटा वर्केवल रिलेशन बनोस्, सदन समस्या सिर्जना गर्ने थलो होइन, राष्ट्रका समस्या समाधान गर्ने निर्णायक थलो हो, त्यसकारण सत्ता र प्रतिपक्षका बीचमा वर्केवल रिलेशन हुनुपर्छ भन्ने मान्यताबाट सभा सञ्चालन गर्नुहुन्थ्यो ।

उहाँले सिंगो सदनको सदनको नेतृत्व गर्दा सबैको विश्वास जित्नुभयो । कम्रेड सुवास नेम्वाङको अनुपस्थिति लामो समयसम्म नेपालको राजनीतिमा खड्किनेछ । उहाँले जुन प्रकारको राष्ट्रिय राजनीतिमा विशेष गरी संसदीय राजनीतिमा समन्वयकारी जुन प्रकारको भुमिका निभाउँदै आउनुभयो, त्यसमा हेर्दा उहाँको अभाव लामो समयसम्म खड्किनेछ । तर हामीसँग अब अर्को कुनै विकल्प छैन, उहाँको अभाव पूरा गर्नका लागि अब हामीले उहाँका अभ्यास र आचरणबाट उहाँको विचार र विश्लेषणबाट सिक्दै उहाँको अभाव पूरा गर्नेगरी अघि बढ्नुको कुनै विकल्प छैन । उहाँको अभाव पूरा गर्न धेरै मेहनत र धेरै कोर्स तयार गर्नुपर्नेछ ।

उहाँका आदर्शको अनुशरण गर्नुको विकल्प रहेन
यो प्रकृतिको नियति हो की जीवनसँगै मृत्यु पनि लिएर आएका हुन्छौँ । धेरै असल र सुयोग्य सन्तानले पनि मृत्युवरण गर्नुपर्छ । हामीले अनपेक्षित र नचिताएको र नसोचिएको समयमा सुवासचन्द्र नेम्वाङलाई गुमाउन पुग्यौँ । उहाँलै जे भुमिका निभाउनुभएको छ, त्यसलाई निर्वाह गर्ने सन्दर्भमा हामीकहाँ एउटा ग्याप जरुर रहनेछ । उहाँले जुन भुमिका, ग्याप निर्वाह गर्नुभयो, हामी उहाँको अभावलाई, उहाँका आदर्शलाई अनुशरण गरी अघि बढ्नेछौँ ।

नेम्वाङको राजनीतिक यात्रा
नेम्वाङ गत सालको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा इलाम क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो । नेता नेम्वाङले ३० हजार २० मत ल्याएर निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डम्बरबहादुर खड्का (२९ हजार ९ सय ६ मत) लाई पराजित गर्नुभएको थियो । नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिधि सभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष-सभामुख र २०७२ सालमा सभामुख हुनुभएको थियो । विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रिय सभा सदस्य बन्नुभएका उहाँ त्यस लगत्तै पुनः राष्ट्रिय सभा सदस्य हुनुभएको थियो ।

प्रतिनिधि सभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उहाँ संविधान सभा निर्वाचन २०६४ र २०७० मा इलाम २ बाट निर्वाचित हुनुभएको थियो । प्रतिनिधि सभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति भएका थिए । विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री हुँदै मन्त्री हुनुभएका उहाँ सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री हुनुभएको थियो । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसाय (वरिष्ठ अधिवक्ता) समेत हुनुहुन्थ्यो ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *