वैदेशिक रोजगारीमा झुटो विज्ञापनको बिगबिगी, सरकारी लोगो प्रयोग गरी मासिक ९ करोड ठगी

दलालले टिकटकमा क्यानडा, जर्मन र दक्षिण कोरियामा वर्क परमिट खुल्यो भन्दै ठग्दै

No ads found for this position
No ads found for this position

काठमाडौं- पछिल्लो समयमा वैदेशिक रोजगारीका नाममा नक्कली विज्ञापनको विगविगी देखिएको छ । केही म्यानपावर, व्यक्तिगत एजेन्ट, कन्सल्टेन्सी र भिसा सेन्टरको नाममा खोलिएको संस्थाले सरकारी लोगो नै प्रयोग गरेर वैदेशिक रोजगारी डिमाण्डको नक्कली विज्ञापन गर्न थालेका छन् ।

गत भदौ १९ गते जर्मनीमा ३ हजार सहायक कामदारको माग आएको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागको लोगो प्रयोग गरी झुटो विज्ञापन गरेको उजुरी नियमन निकाय विभागमा उजुरी परेको थियो ।

विभागले उजुरीको आधारमा अनुसन्धान गर्दा श्रम मन्त्रालय र विभागको लोगोभित्र डिमाण्डको विज्ञापन गरेको तथ्य फेला परेको थियो ।

पछिल्लो समय भने विभिन्न अनधिकृत व्यक्ति तथा संस्थाहरूले यसरी झुटो रोजगारीको प्रलोभनसहितको विज्ञापन गर्ने र ठगी गर्ने क्रम बढेको विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले दिए ।

श्रमिक ठग्ने नियतिले गरिएको यो विज्ञापनको प्रथम पटक प्रकाशित मिति यही भदौ १९ गते उल्लेख छ भने नेपाल र जर्मनबीच भएको श्रम सम्झौता अनुसार कामदार माग गरिएको उनले बताए । ‘प्रलोभनमा पार्न तलब महिनामा २ हजार अमेरिकी डलर हुने, करार अवधि एक वर्षको हुनेजस्ता विवरणहरू समेत उल्लेख गरिएको छ । यो त उदाहरण मात्र हो । यसरी वैदेशिक रोजगारीका नाममा विज्ञापन गरेर ठगि गर्ने गिरोह सक्रिया रहेका छन् ।’ उनले भने, ‘म्यानपावरहरूलाई समेत झुटो विज्ञापन सामाजिक सञ्जालमार्फत गरेको पाइएपछि विभागले कारबाही गरिरहेको छ । तर, व्यक्ति, कन्सल्टेन्सी र अन्य क्षेत्रबाट गरिएका झुटो विज्ञापनबाट रोजगारीको खोजीमा रहेको कामदार ठगिने गरेका छन् । नियन्त्रण गर्न मुश्किल भइरहेको छ ।’

विभागका अनुसार ३ हजार सहायक कामदार सरकारी प्रक्रियामार्फत नै पठाइने त्यसमा २० प्रतिशत महिला र ८० प्रतिशत पुरुष श्रमिक लैजाने भनेर विज्ञापनमा बताइएको छ ।

आवेदन विभागको वेबसाइटमार्फत दिन सकिने भनेर समेत विज्ञापनमा भनिएको विभागले जनाएको छ ।

जर्मनजस्तै दक्षिण कोरियापनि मौसमी कामदारमा पठाउने भन्दै केही व्यक्ति र एजेन्टले विज्ञापन गरी श्रमिक पैसा उठाइरहेको सूचना आएको श्रम मन्त्रालयले जनाएको छ ।

मौसमी कामदार लैजाने प्रक्रिया सुरु भएको भन्दै नक्कली सूचना सामाजिक सञ्जालमा भेटिएपछि श्रम मन्त्रालयले मौसमी कामदार पठाउने सम्झौता कोरियासँग नभएको पुष्टि गरेको हो । नक्कली सूचनामा कार्तिक २२ सम्ममा १२ हजार नेपाली कामदार पठाउन कोरियासँग सम्झौता भएको उल्लेख छ ।

श्रम मन्त्रालयले सामाजिक सञ्जालहरूमा प्रसारित नक्कली प्रेस विज्ञप्तिमा विश्वास गरी अनावश्यक रूपमा भ्रममा नपर्न आग्रह गरेको छ ।

यस्तै, क्यानडाको वर्क परमिट भिसा पाइने भन्दै सामाजिक सञ्जालमा नक्कली विज्ञापन गरी सम्पर्कमा आएका व्यक्तिसँग क्यासियरको काम पठाइदिने भन्दै ठुलो रकम ठगि भइरहेको विभागले जनाएको छ ।

यसरी गरिएको विज्ञापनमा मासिक ५ लाख ४५ हजार रूपैयाँ तलव हुने प्रलोभन देखाएर प्रोसेसिङको लागि आवश्यक कागजातहरु पठाउन भन्दै दलालले प्रतिव्यक्ति ७० हजारदेखि १ लाख रुपैयाँसम्म ठगि गरिरहेको विभागले जानकारी दियो ।

मासिक ९ करोडभन्दा बढी ठगि

युरोपका देश, अफ्रिकी देश, खाडी र मलेसियामा राम्रोसँग धेरै कमाइ हुने रोजगारीको प्रलोभन देखाएर मासिक ठुलो संख्यामा विदेश जान खोज्ने कामदार ठगिमा पर्ने गरेको विभागले जनाएको छ ।

विभागका अनुसार मासिक नक्कली रोजगारीको विज्ञापन गरी ९ करोडभन्दा बढी आर्थिक ठगि भइरहेको छ । यसरी ठगि गर्ने गिरोह नेपाल, भारत, यूएई र अन्य देशमा बसेर नक्कली विज्ञापन गरी नेपालबाट कामदार ठगि गरिरहेका छन् ।

गिरोहको नक्कली विज्ञापनमार्फत सम्पर्कमा पुगेका कामदारलाई उनीहरुले प्रोसेसिङका नाममा २ लाख रुपैयाँसम्म प्रतिव्यक्ति ठगि गरेको उजुरी लिएर पीडित धाउने गरेको विभागले जनाएको छ ।

सेक्युरिटी डिपोजिट, हेल्थ इन्सोरेन्स, एलोकेटेड फण्ड, भिसा भेरिफिकेसन डीएचएलमार्फत कागजात पठाउन रकम तिर्नुपर्छ भन्दै दलालले नेपालमा रहेका विभिन्न व्यक्तिहरूको बैंक खातामा रकम पीडितलाई पठाउन लागेर ठगि गरेको विभागका सूचना अधिकारी उप्रेतीले बताएका छन् ।

पैसा बुझाइसकेपछि सबै कुरा नक्कली रहेको भएका कारण तत्काल बन्द गरी फरार हुने गरेका कारण रोजगारीको खोजीमा रहेको व्यक्ति ठगिपछि मात्र विभागमा आउने गरेको उनको भनाइ छ ।

सरकारले अहिलेसम्म रोजगारीका लागि संस्थागत रूपमा पठाउन १ सय ११ वटा देश खुला गरेको छ । त्यसमध्येमा पनि युद्धग्रस्त ३ देशमा श्रमिक पठाउन प्रतिबन्ध लगाएको छ ।

व्यक्तिगत रूपमा भने १ सय ७८ भन्दा बढी देशहरूमा रोजगारीका लागि नेपालीहरू गइरहेका छन् । जर्मनसँग भने श्रम सम्झौता नभएको श्रम मन्त्रालयले जनाएको छ । श्रम सम्झौता नभएका देशमा व्यक्तिगत भिसामा कामदार रोजगारीमा जाने गरेका छन् । पछिल्लो समय संस्थागत जनि नै व्यक्तिगत भिसामा कामदार वैदेशिक रोजगारीमा जाने थालेको विभागकै तथ्यांक देखाउँछ ।

टिकटक मार्फत ठगिँदै

वैदेशिक रोजगारीमा झुटो विज्ञापन गरि वेस्ट भिजा सर्भिस, वर्क इन क्यानडा, भिजा सोलुसन प्रालि र सुशिलाकोल्ट नामक टिकटक अकाउन्टमा रोजगारी खुलेको भन्दै ठग्दै आएको पाइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *