प्रहरीबाटै लुटिन्छन् नेपाली कामदार मलेसियामा

म्यानपावरसँग सम्झौता भएअनुसार तलब नपाएपछि कम्पनी छाडेर भाग्छन्

No ads found for this position
No ads found for this position

काठमाडौं- मलेसिया वैदेशिक रोजगारीमा कार्यरत उदयपुरका मनिराज राई एक वर्षदेखि अवैध भएर काम गर्दै आएका छन् । राई नेपालबाट गएको भन्दा अर्को कम्पनीले ९ सय रिंगेट बढी तलब दिने भएपछि कम्पनी छाडेर भागेर अर्कै कम्पनीमा काम गर्दै आएको बताए ।

‘नेपालबाट ९ सय रिंगेटमा आएको थिए । मलेसिया आएर काम गर्न थालेको दुई वर्षसम्म तलब नबढेपछि कम्पनीबाट भागेर अर्को कम्पनीमा पुगेपछि १ हजार ७ रिंगेट तलब पुग्यो ।’ उनले भने, ‘बाहिर हिड्न समस्या हुन्छ । अहिले कार्यरत कम्पनीले तलब बाहेकका सुविधा दिँदैन । ८ घण्टा काम गरेको तलब र ओभरटाइम काम गरेको पैसा समयमा दिन्छ ।’

कम्पनी छाडेर भागेपछि आफ्नो साथमा राहदानी नभएका कारण पैसा नेपाल पठाउन समस्या र मलेसियन प्रहरीले समाउँछ भन्ने डर बढी भएको उनको भनाइ छ । राई मलेसियाको रबर कम्पनीमा काम गर्न गएका थिए ।  हाल उनी बंगुर कृषि फार्ममा लुकेर काम गर्दैछन् ।

राईजस्तै सिन्धुलीका धिरेन्द्र भुजेल पनि मलेसियामा अवैध भएर सात महिनायता काम गर्दै आएका छन् । उनले पनि नेपालबाट आउँदाजस्तो सेवा-सुविधा र तलब नपाएका कारण कम्पनी छाडेर भाग्नुपरेको बताए ।

म्यानपावर कम्पनीले मलेसिया आउँदा एउटा काममा करार गराएर अर्कै काममा पठाएको कारण भाग्नुपरेको उनले बताए ।
‘मलेसिया आएको सात महिनामा भागे । म्यानपावरलाई ३ लाख रुपैयाँ लागत खर्च तिरेर आएको थिए । ७ महिनामा पनि ऋण तिर्ने सकिन । त्यही भएर कम्पनी नै छाडेर भागेपछि अहिले मासिक ७० हजार कमाउँदैछु ।’ उनले भने, ‘मलेसिया रोजगारीमा आएका धेरै नेपालीहरु कम्पनी छाडेर भागेका हुँदा रहेछन् । हामीभन्दा पहिला आएका साथीहरुको सहयोगमा आफुपनि कम्पनी छाडेर भागेपछि मासिक २ हजार ५ सय रिंगेट कमाउन थालेको छु । म अहिले मलेसियाको उखु संकलन केन्द्रमा कार्यरत छु ।’

साथमा राहदानी र नेपाली हुँ भन्ने कुनै प्रमाण नभएका कारण मलेसियन प्रहरीको फन्दा पर्ने त्रास भएको उनको भनाइ छ ।
राई र भुजेलजस्तै धेरै मलेसिया रोजगारीमा पुगेका नेपाली कामदार बढी कमाउने, राम्रो रोजगारी र सजिलो कामको खोजीमा कम्पनी छाडेर भाग्ने गरेको पाइन्छ ।

मलेसिया पुगेका नेपाली कामदार कम्पनी छाडेर भाग्ने र समस्या पर्ने क्रम बढ्दै गएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले मलेसियामा म्यानुफ्याक्चरिङको रोजगारीमा आएका धेरै महिला र पुरुष कामदारहरुले कम्पनी छोड्ने भाग्ने क्रम बढेको दूतावासले यही साता गरेको एक कार्यक्रममा जानकारी गराएको थियो ।

व्यक्तिगत बुझाइभन्दा पनि अन्यत्र राम्रो पैसा कमाउने लोभमा लागि झुटो आश्वासन दिने गिरोह र बिचौलियाको भरमा परेर रोजगारदाता छाडेर भाग्ने क्रम बढेको दूतावासका द्वितीय सचिव प्रेमबहादुर बुढथापाले जानकारी दिए । उनका अनुसार मलेसिया म्यानुफ्याक्चरिङको रोजगारीमा आएका धेरै महिला कामदारहरुले कम्पनी छोडेका भाग्ने गरेको सूचना  निरन्तर आइरहेको छ । यो विषयमा दूतावासले मलेसियामा कार्यरत कामदारलाई सामाजिक सञ्जाल र अन्य प्रविधिमार्फत जानकारी गराउँदै आएको छ ।

मलेसियामा कम्पनी छोडेर अवैधानिक अवस्थामा रहेकाहरूलाई त्यहाँको प्रहरीले समेत लुटपाट गर्ने गरेको दूतावासमा सूचना आएको द्वितीय सचिव बुढाथापाले जानकारी दिए ।

मलेसियामा पुरूष कामदार सेक्युरिटी, होटल तथा सर्भिस, म्यानुफ्याक्चरिङ, प्लान्टेशनको काममा जाने गरेका छन् । भने, महिला कामदारहरु बढी मात्रामा म्यानुफ्याक्चरिङ र क्लिनरको रोजगारीमा आएको दूतावासले जनाएको छ ।

मलेसिया म्यानुफ्याक्चरिङ र क्लिनरको रोजगारीमा आएका कतिपय महिला कामदार घरेलु काममा पर्ने गरेका कारण पनि मलेसियामा कार्यरत नेपाली कामदारकै सहयोगमा कम्पनी छाडेर भाग्ने गरेको दूतावासको भनाइ छ ।

६ महिना प्रतिबन्ध 

हाल मलेसिया ८० देखि ९० हजारको संख्यामा नेपाली कामदार अवैध रुपमा बसेर काम गरिरहेको दूतावासको अनुमान छ ।
जसमा धेरै श्रम अवधि सकिएका र कम्पनी छाडेर भागेको कामदार रहेको दूतावासले जनाएको छ ।

मलेसियामा भागेर अवैधरुपमा बस्ने कामदारलाई पुनः मलेसिया प्रवेशका लागि कम्तीमा ६ महिना प्रतिबन्ध लगाउने कानुनी व्यवस्था छ ।

मलेसिया सरकारले अवैधानिक अवस्थामा रहेकाहरूलाई जरिवाना छुट दिएर स्वदेश फिर्ता गराउने कार्यक्रम ‘बंकुश’ खुला गर्ने गरेको छ । हाल मलेसियामा अवैधानिकरूपमा बसेर काम गदै आएको कतिपय नेपाली स्वदेश फर्किने यो कार्यक्रमको प्रतिक्षामा रहेको दूतावासले जनाएको छ ।

हाल मलेसियामा साढे ५ लाख नेपाली कार्यरत रहेको वैदेशिक रोजगार विभागले जनाएको छ । अवैध रुपमा बसेर रोजगारीमा कार्यरत नेपाली कामदारलाई वैधानिक बनाउन सरकारले चालु आर्थिक वर्षदेखि विदेशबाट पनि पुनः श्रम स्वीकृति जारी गर्न थालेको छ । तर, कानुनी फन्दामा पर्ने डरले धेरै वैदेशिक रोजगारीमा कार्यरत कामदार यो सुविधा लिन चासो नदेखाएको विभाागको बुझाइ छ ।



प्रतिक्रिया