कोशी सरकारको विश्वासको मतसम्बन्धी मुद्दामा आज पूर्ण सुनुवाइ हुँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतले आज अन्तिम सुनुवाइ सुरु गर्दै छ।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै नेकपा एमाले प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमाथि शुक्रबार पूर्ण सुनुवाइ गर्नेगरी यसअघि नै पेसी तोकिएको थियो।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सर्वोच्चको आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार ‘कामचलाउ’ अवस्थामा छ।

कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

हाल विचाराधीन रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले थापाले विश्वासको मत प्राप्त गरेको भनी घोषणा गरिएको कार्य नेपालको संविधानको धारा १६८ (२) र (४) तथा धारा १८६, संसदीय अभ्यास, संवैधानिक नैतिकता लगायत यस अदालतबाट प्रतिपादित सिद्धान्त समेतको प्रतिकूल रहेको देखिएको ठहर गरेको थियो। अब सर्वोच्चले त्यसको विस्तृत व्याख्या गर्दै फैसला सुनाउनेछ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *