सहरपिच्छे म्यानपावरका शाखा, ३२ वटाको मात्र अनुमति

एजेन्टकै भरमा चल्छन् म्यानपावर

No ads found for this position
No ads found for this position

काठमाडौं- वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरुलाई शाखा कार्यालय तत्काल नवीकरण गराउन निर्देशन दिएको छ ।

वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न इजाजत प्राप्त संस्थाहरुको स्वदेशमा शाखा कार्यालय सञ्चालनसम्बन्धी कार्यविधि २०७९ को दफा ५ को उपदफा १ मा प्रत्येक आर्थिक वर्षको असोज मसान्तभित्र शाखा कार्यालयको नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ ।

कार्यविधिमा शाखा कार्यालय नवीकरण गर्दा प्रत्येक शाखा कार्यालयको एक हजार रुपैयाँ शुल्क लाग्ने व्यवस्था छ ।

कार्यविधिमा वार्षिक एक हजार कामदार पठाउने म्यानपावर कम्पनीलाई एक, दुई हजार पठाउनेलाई दुई, तीन हजार पठाउनेलाई तीन, तीनदेखि पाँच हजार पठाउनेलाई पाँच र पाँच हजारभन्दा धेरै पठाउनेलाई केन्द्रीय कार्यालयसहित सात वटासम्म शाखा सञ्चालनको अनुमति दिने गरेको छ । तर, पछिल्लो समयमा देशका मुख्य शहरमा सबै म्यानपावरका शाखा कार्यालय रहेको विभागकै कर्मचारी बताउँछन् ।

प्रत्येक शाखा कार्यालयको धरौटी शुल्क दुई लाख रुपैयाँ तोकिएको छ । शाखा कार्यालयमा कार्यालय प्रमुख रहने कर्मचारीको न्यूनतम शैक्षिक योग्यता १२ कक्षा र सहायक कर्मचारीका लागि एसईई उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था पनि कार्यविधिमा उल्लेख छ । तर, शाखा कार्यालयमा कर्मचारीका नाममा म्यानपावरले एजेन्ट राखेका छन् । तीनै एजेन्टले वैदेशिक रोजगारीको खोजीमा रहेका कामदारसँग चर्को रकम लिने गरेको पाइएको विभागका एक कर्मचारीले बताएका छन् ।

एजेन्टले चलाएकै म्यानपावरका शाखा कार्यालयबाट कामदार बढी ठगिएको उजुरी आएको उनले बताए । ‘वैदेशिक रोजगारीको खोजीमा रहेका सबै कामदार सिधैं म्यानपावरसम्म आइपुग्दैन् । हरेक जिल्लामा म्यानपावरका अस्थाई कार्यालय र एजेन्ट छन् । तीनै एजेन्टले कामदारलाई काठमाडौंसम्म ल्याउन काम गर्छन् ।’ उनले भने, ‘एजेन्टले कमिशन खाएर मात्र कामदारलाई म्यानपावरसम्म ल्याउँछन् । एजेन्टले जस्तै म्यानपावरले पनि कामदारसँग उच्च कमिशन खाएर मात्र वैदेशिक रोजगारीमा पठाउँछन् ।’

अहिले धेरैजसो आर्थिक कारोवार म्यानपावरको शाखा कार्यालयबाटै हुने गरेको उनको भनाइ छ ।

पुर्वको बिर्तामोड, सुनसरीको इटहरी तथा धरान, कास्कीको पोखरा, रुपन्देहीको बुटवल, चितवनको भरतपुर र दाङमा म्यानपावरका शाखा कार्यालय सञ्चालनमा भएको विभागले जनाएको छ । तर, गत वर्ष विभागले देशका हरेक मुख्य शहरमा रहेका शाखा कार्यालयमा अनुगमन गरेको थियो ।

विभागले २०७२ सालमै एजेन्ट खारेजी गरेको थियो । तर, हाल पनि म्यानपावरको कर्मचारी भएर एजेन्टले गाँउ-गाँउबाट कामदार बटुलेर काठमाडौं ल्याउने गरेको पाइन्छ ।

३२ वटाको मात्र अनुमति

विभागको तथ्यांकअनुसार हालसम्म ३२ वटा म्यानपावर कम्पनीले शाखा सञ्चालनको अनुमति लिएका छन् । तर, हाल सञ्चालन रहेका ८ सय ५८ वटै म्यानपावरका शाखा कार्यालय भएपनि विभागले अनुमगन गर्न सकेको छैन । जसका कारण उपत्यका बाहिर रोजगारीको खोजीमा रहेका कामदार ठगिए भनेपनि म्यानपावरले उन्मूक्ति पाउने गरेका छन् ।

एजेन्टकै भरमा ७० प्रतिशत म्यानपावर सञ्चालनमा रहेको विभागकै कर्मचारी नै दाबी गदै आएका छन् । पछिल्लो समय म्यानपावर कम्पनीले विदेशबाट डिमाण्ड ल्याउनुअघि नै शाखा कार्यालयमार्फत विज्ञापन गरी कामदारसँग अग्रिम पैसा समेत उठाउने गरेका छन् । त्यसरी कामदारसँग उठाएको पैसा म्यानपावरले भिसा व्यापारमा लगानी गर्दै आएको एक एजेन्टले जानकारी दिए ।

म्यानपावर प्राय एजेन्टमार्फत चलेका छन् । यादि एजेन्ट नहुनु भने ८० प्रतिशत म्यानपावरले कामदार नपाउने उनको दाबी छ । कामदार खोज्ने, पैसा उठाउने, कामदारसँग पैसाको कुरा मिलाउने, रोजगारीको बारेमा जानकारी गराउन र काठमाडौंसम्म कामदार ल्याउने काम पनि एजेन्टकै हुने गरेको उनको दाबी छ ।

देशभर करिब २ हजारभन्दा बढी एजेन्टले म्यानपावरको सहयोगी भएर काम गरिरहेको उनको दाबी छ । उनकाअनुसार तीनै एजेन्टले महिनैपिच्छे कामदार खोजेर म्यानपावरसँम्म ल्याउँछन् र हरेक कामदारबाट २० हजारसम्म कमिशन लिने गरेका छन् । एजेन्टबाटै म्यानपावरले कामदार वैदेशिक रोजगारीमा पठाउँदा नगद कारोवार समेत गर्नेगरेको उनको भनाइ छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *