सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार प्रति उत्तेजित नहुन गगनको अपिल
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सबै पक्षलाई धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।
पछिल्लो समय देशका विभिन्न भागमा धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सद्भाव भड्काउने खालका गतिविधि भएकोतर्फ ध्यानाकर्षण भएको बताउँदै थापाले सामाजिक सद्भाव कायम राख्न अपिल गरेका हुन्। उनले उत्तेजक र द्वेषपूर्व विचार व्यक्त भएका कारण नेपालगन्जमा कर्फ्यू गर्नुपरेको विषय अत्यन्तै गम्भीर चिन्ताको विषय भएको बताएका छन्।
थापाले सामाजिक सञ्जाल ट्वीटरमा अपिल गर्दै भनेका छन-
विगत केही समयदेखि देशका विभिन्न भागमा धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सदभाव भड्काउने खालका अवाञ्छित र रहस्यमय गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको छ।
धार्मिक, सामाजिक, सांस्कृतिक तथा जातीय सहअस्तित्व, सहिष्णुता तथा सदभाव भड्काएर सामाजिक विद्वेष तथा घृणा फैलाउने कुत्सित अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेको कारणले हिजोदेखि नेपालगञ्जमा कर्फ्यु जारी गर्नु परेको छ, जुन गम्भीर चिन्ताको विषय हो।
हाम्रो देश नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय तथा बहुभाषिक राष्ट्र हो। आफ्नो धार्मिक तथा सांस्कृतिक आस्था अनुसार धर्म र संस्कृति अनुसरण तथा अभ्यास गर्ने स्वतन्त्रता हरेक नेपाली नागरिकलाई छ। यो मौलिक अधिकारलाई नेपालको संविधानले समेत पूर्ण प्रत्याभूति गरेको छ।
हामीहरूको धार्मिक आस्था फरक होला, पाठ गर्ने धार्मिक ग्रन्थ फरक होलान, प्रार्थना गर्ने मन्त्र फरक होला। तर आफ्नो धर्म, आस्था र प्रार्थना एउटै छ। त्यो हो – मानवतावाद, शान्ति र धार्मिक तथा सांस्कृतिक सहिष्णुता, सदभाव तथा सहअस्तित्व।
विश्व शान्तिका प्रतीक भगवान गौतम बुद्धको जन्मभूमि तथा शान्तिभूमि नेपालबाट हामीले विश्वलाई शान्ति, सहिष्णुता, सद्भाव र सहअस्तित्वको सन्देश प्रवाह गर्दै आएका छौँ र यो गौरवमय पहिचान र परम्परालाई हामीले कायम राख्नुपर्छ। त्यसैले हाम्रो देश नेपाल र हामी नेपालीको मौलिक र गौरवमय पहिचान, परम्परा र स्वभाव विपरीत धार्मिक, सामाजिक तथा सांस्कृतिक सदभाव भड्काउने अवाञ्छित क्रियाकलापप्रति सचेत हुँदै शान्ति, सहिष्णुता तथा सहअस्तित्वको सन्देश प्रवाह गर्न सबै धार्मिक, सांस्कृतिक तथा जातीय समुदायप्रति विनम्रतापूर्वक हार्दिक अपिल गर्दछु।
साथै समाजमा धार्मिक, सामाजिक तथा सांस्कृतिक सहअस्तित्व, सहिष्णुता र सद्भाव कायम गर्न नेतृत्वदायी तथा उदाहरणीय भूमिका निर्वाह गर्न नेपाली कांग्रेसका सम्पूर्ण नेता, कार्यकर्ता तथा सदस्यहरूलाई हार्दिक आह्वान गर्दछु।
यसै गरी धार्मिक, सामाजिक तथा सांस्कृतिक सदभाव, सहिष्णुता तथा सहअस्तित्व कायम गरी समाजमा अविलम्ब शान्ति र सुव्यवस्था बहाल गर्न सरकारसँग आग्रह गर्दछु।
धार्मिक, सामाजिक तथा सांस्कृतिक सदभाव, सहिष्णुता तथा सहअस्तित्वमा प्रतिकूल प्रभाव पर्ने विचार, सामग्री, फोटो, भिडियो पोष्ट नगर्न सम्पूर्ण सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई हार्दिक अपिल गर्दछु।
यदि हिंसा भड्काउने तथा सामाजिक विद्वेष फैलाउने अभीष्टले सामाजिक सञ्जालमा भ्रामक, कपोलकल्पित, उत्तेजक र द्वेषपूर्ण विचार व्यक्त गरेमा त्यस्तो षड्यन्त्रप्रति उत्तेजित नहुन तथा स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई खबर गरी सहयोग गर्न पनि सविनय अनुरोध गर्दछु।