दसैंमा चिनीको अभाव: सरकारी गोदाम रित्तै, २ सयमा कालोबजारी

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपालीहरुको महान चाड दसैं आउन एक साता मात्र बाँकी छ । तर, हाल बजारमा दैनिक उपभोगमा आउने चिनीको अभाव सुरु भएको छ । सरकारले अहिले दसैं-तिहार लक्षित सुपथ मूल्य पसलमा सञ्चालन गरेको छ । ती पसलमा समेत अहिले चिनी नपाएको उपभोक्ताले गुनासो गर्न थालेका छन् ।

मंगलबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बिक्री कक्षमा चिनी सकिएको सूचना टाँसेर सर्वसाधारण जानकारी गराएको थियो । थापाथलीमा मात्र होइन, खाद्य व्यवस्था कम्पनीद्वारा ४२ जिल्लाका ४८ स्थानमा सञ्चालित सुपथ मूल्य पसलमा चिनी किन्न गएका ग्राहक रित्तै फर्किने गरेका छन् ।

संघीय संसद् प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले गत सोमबार खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्द र साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलाई चिनी अभाव हुनुको कारणबारे सोधेको थियो ।

उनिहरुले सरकारले पहिला चिनी खरिदका लागि अनुमति नदिएको र अहिले अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य बढेपछि खरिद गरेर ल्याउन सक्ने अवस्था नभएको जवाफ समितिलाई दिए ।

सार्वजनिक खरिद ऐनको व्यवस्थाअनुसार बोलपत्र आह्वान, छनोट, स्वीकृति र त्यसपछि चिनी आपूर्तिको प्रक्रिया सुरु गर्दा दसैं, तिहारलगायत चाडबाडको समयमा चिनीको अभाव बजारमा देखिएको हो ।

अर्थ मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई चिनी खरिद गर्न गत भदौ २९ गते अनुमति दिएको थियो । कम्पनीमार्फत चिनी खरिदका लागि ४५ दिनको अवधि राखेर अन्तर्राष्ट्रिय बोलपत्र आह्वान प्रक्रिया अघि बढाइएको कम्पनीका कर्मचारीहरुले समितिमा जवाफ दिएका थिए।

गोदाममा चिनी सकियो

दसैं तिहारको समयमा एक महिनामा ५० हजार मेट्रिक टन चिनीको माग हुने गरेको साल्ट ट्रेडिङले जनाएको छ । तर, साल्ट ट्रेडिङले गोदाममा करिब ३ सय मेट्रिक टन मात्र चिनी मात्र मौज्दात रहेको बताउँदै आएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयलाई चिठी पठाउँदै बजार हस्तक्षेपका लागि भनेर ६० हजार टन सहुलियतको चिनी ल्याउने बजेट समेत मागेको छ । तर, अर्थले सुरुमा यसमा चासो दिएन ।

भदौ अन्तिममा २० हजार टन चिनी आयातका लागि ५० प्रतिशत भन्सार महसुल छुटमा आयात गर्न अर्थले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई अनुमति दिएको थियो । तर,साल्ट ट्रेडिङ कर्पोरेसनले १० हजार र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले १० हजार टन आयातको जिम्मेवारी पाएको थियो । यो चिनी पनि अहिलेसम्म ल्याउन नसकेको दुवै संस्थाले स्वीकारेका छन् । अहिले र,साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीका गोदाम रित्तै छन् ।

साल्टसँग भएको चिनीले जसोतसो दसैंसम्म मात्र पुग्ने साल्टका सह-महाप्रबन्धक कुमार राजभण्डारीले जानकारी दिए । ३ सय टन चिनी मौज्दात रहेको छ । यो चिनी एक साता मात्र पुग्ने उनले बताए । ‘५० प्रतिशत भन्सार महसुल छुट पाएको चिनी आयात नभए सरकारी गोदाम रित्तै हुन्छ । अहिलेको अवस्था यस्तै छ । तत्काल चिनी ल्याउनुपर्छ कि उद्योगमा उत्पादन भएको चिनी मागेर अभाव टार्नुपर्छ ।’ उनले भने ।

अहिले बजारमा माग भएजति चिनी ल्याउने सक्ने अवस्था छैन । चिनी आउने अवस्था नभएको उनको भनाइ छ ।

सरकारले चाडपर्व सुरु भएसँगै ५० हजार टन चिनी सरकार–सरकार (जीटूजी) मार्फत भारतबाट ल्याउने घोषणा गरेको थियो । तर, भारतमा चिनी मुल्य बढेपछि त्यहाँ नै चिनी व्यापारमा रोक लगाइएको थियो ।

भारतले जुन १ देखि अक्टोबर ३१ सम्म निर्यातमा रोक लगाएको हो। उखुको अफसिजन भएको र भारतमै चिनीको मूल्य बढ्न थालेपछि नियन्त्रण गर्दै आएका कारण नेपालमा चिनी अभाव भएको हो ।

पैंचो दिन आलटाल

अहिले किलोकै १५० रुपैयाँसम्म मूल्यमा चिनीको कालोबजारी भइरहेको व्यापारीहरुनै बताउँछन् । उपभोत्ताले १५० रुपैयाँमा चिनी किन्न बाध्य हुनुपरेको गुनासो गर्छन । दसैंसम्म चिनीका अभाव अथवा एक साता भित्रमा चिनी ल्याउन नसके बजारमा चिनीको मुल्य २ सय रुपैयाँ पुग्ने व्यापारीको अनुमान छ ।

अहिलेपनि बजारमा कालो बजारीमार्फत चिनी आर्यात भइरहेको एक व्यापारीले जानकारी दिए । दसैंमा चिनी अभाव हुने भएपछि केही व्यापारीले भारतबाट चिनी ल्याएर व्यापार गर्ने भन्दै हिडेको उनले बताए । ‘दसैं अघि नै चिनीको कालोबजारी सुरु भएको छ । बजारमा चिनी अभाव भएपछि छोइनसक्नु छ। धेरैजसो पसलमा चिनी पाइँदैन।’ उनले भने,‘दसैं-तिहारमा चिनीको मुल्य दुई सय रुपैयाँमाथि पुग्छ । चिनी कालोबजारीका लागि सरकारी कर्मचारीपनि मिलोमत्तो गर्दैछन् । सरकार नै कालोबजारी गराउन लागि परेको छ ।’

चिनीको बजार नियन्त्रणबाहिर गएको छ। यही अवस्थालाई देखेर बल्ल सरकारले उद्योगीसँग चिनी पैंचो माग्न थालेको छ । तर, उद्योगीहरुले चिनी पैंचो दिन आलटाल गरिरहेको पाइएको छ ।

उद्योगीसँग १ लाख ८८ हजार क्विन्टल चिनी मौज्दात रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

विभागले गत असोज पहिलो सातादेखि नै चिनी पैंचो माग्न थालेपनि चिनी उद्योगले सरकारलाई चिनी पैंचो दिन चासो नदेखाएको विभागकै कर्मचारी गुनासो गर्छन् ।

अहिले उद्योगीहरुले १ लाख ८८ हजार क्विन्टल चिनी मौज्दात रहेको जानकारी दिएको र मौज्दातमध्ये ५० हजार क्विन्टलसम्म चिनी पैंचो मागेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सूचना अधिकारी आनन्दराज पोखरेलले दिए । उद्योगीहरुले अहिलेसम्म केही प्रतिक्रिया नभएको र केही उद्योग पैंचो दिने समेत बताएको उनले बताए ।

विभागले पैंचो मागेपनि कतिपय उद्योगले मौज्दात चिनी भएपनि नभएको भन्दै दसैंमा महँगो मुल्यमा बेच्ने तयारीमा छन् । अहिले बजारमा देखिएको चिनी अभावको फाइदा उठाउने पक्षमा उद्योग समेत रहेको व्यापारीहरुको आरोप छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *