मन्त्री निवास आसपास ६ महिना सम्मका लागि निषेधित क्षेत्र घोषणा
५ जनाभन्दा बढि भेला भइ नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ र अनसन गर्न नपाइने
काठमाडौं- ललितपुर जिल्ला प्रशासन कार्यालयले यूएन हाउस र मन्त्री निवास आसपासमा प्रदर्शन, घेराउ, सभा र भेलालगायतका गतिविधि गर्न रोक लगाएको छ।
मंगलबार प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले आदेश जारी गर्दै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै ललितपुरको वडा नम्बर ३ को केही भागमा विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाएका छन्।
प्रजिअ पण्डितद्वारा हस्ताक्षरित आदेशमा भनिएको छ, ‘ललितपुर जिल्ला ललितपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित यु.एन. हाउस र मन्त्रि निवास पुल्चोकको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी पूर्व तर्फ इनारमोड जाने मूलवाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तर तर्फ आन्तरिक राजस्व कार्यालय तथा यु.एन. हाउस र दक्षिण तर्फ राष्ट्रिय मानव अधिकार आयोग एवम् राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र भित्र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम मिति २०८० साल मंसिर ०५ गतेदेखि आगामी ६ महिना सम्मका लागि पाँच जनाभन्दा बढि व्यक्ति भेला जम्मा भइ नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरेको आदेश जारी गरिएको छ।’