राप्रपाले आज सडकमा ५० हजार मानिस उतार्ने, अवरोध गर्न खोजे प्रतिवाद गर्ने
काठमाडौं- संवैधानिक राजतन्त्रको पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज आज काठमाडौंमा वृहत प्रदर्शन गर्ने भएको छ ।
प्रदर्शन आज दिउँसो भृकुटीमण्डपबाट सुरु भएर काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरी जनसभामा परिणत हुने राप्रपाले जनाएको छ । राप्रपाले आजको प्रदर्शनमा विभिन्न धार्मिक सङ्घ, सङ्गठनहरूको सहभागिता सहित ५० हजार बढी मानिसलाई सडकमा उतार्ने दाबी गरेको छ ।
राप्रपाले प्रदर्शन शान्तिपूर्ण हुने भन्दै सुरक्षाको उचित प्रवन्धका लागि सरकारको ध्यानाकर्षण समेत गराइसकेको छ । यस्तै, राप्रपाले निषेधित क्षेत्र घोषणा गरेर प्रदर्शनमा अवरोध गर्न खोजे प्रतिवाद गर्ने चेतावनीसमेत दिएको छ ।
राप्रपाले राजतन्त्रको पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजी लगायतका विभिन्न माग राख्दै प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको थियो ।
यस्तै राप्रपका सर्वधर्म समभाव, पूर्ण धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन धर्मसापेक्ष हिन्दु अधिराज्य घोषणा गर्नुपर्ने, सङ्गठित, योजनाबद्ध, प्रलोभन तथा छलकपटपूर्ण धर्मान्तरणमा तत्काल रोक्नुपर्ने, प्रदेश संरचनाको खारेजी र दुई तहको सरकार केन्द्र र अधिकार प्राप्त स्थानीय तह बनाउनुपर्ने लगायतका माग रहेका छन् ।