जिल्ला अदालतको फैसलालाई उच्चले उल्टायो, निर्दोष ठहरिए सन्दीप लामिछाने

No ads found for this position
No ads found for this position

काठमाडौं- उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई अन्तिम सुनवाइ दिएको छ । हिजो हेर्दाहेर्दैमा परेको मुद्दाको सुनवाइ आज बिहान ११ बजेबाट उच्चमा सुरु भएको थियो ।

जिल्ला अदालत काठमाडौंलेको फैसला उल्टाउँदै उनलाई उच्च अदालत पाटनले निर्दोष ठहर गरेको हो ।

फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए । उच्च अदालतको फैसलापछि सन्दीप फेरि क्रिकेटमा फर्किन योग्य भएका छन् । जिल्ला अदालतले दोषी ठहर्‍याएपछि नेपाल क्रिकेट संघले उनलाई निलम्बनमा राखेको थियो ।

हिजो दिनभरि दुवै पक्षका वकिलले बहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा गएको थियो । लामिछानेको मुद्दाको पेसी आज उच्च अदालत पाटनका न्यायाधीशद्वय अन्जु उप्रेती ढकाल र सुदर्शनदेव भट्टको इजलासमा परेको थियो ।

यसअघि पटकपटक सुनुवाइ स्थगित हुँदै आएको मुद्दाको सुनुवाइका लागि गत वैशाख २३ गते पेशी न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङ्गेलको इजालसमा तोकिएको थियो। उक्त दिन हेर्न नमिल्नेमा परेपछि आजका लागि पेशी तोकिएको हो ।

अघिल्लो पेसीमा इजलासले मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएको थियो । यसअघि वैशाख ३ गते उच्च अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्म मिति सच्याउन दिएको निवेदन र जन्ममिति स्पष्ट खुल्ने काजगात झिकाउन आदेश दिएको थियो ।

न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले गौशाला २६ ले जन्ममितिसम्बन्धी स्पष्ट हुने काजगात झिकाउन आदेश दिएको हो । यसअघि जिल्ला अदालतले पीडित गौशाला २६ को उमेर १८ वर्ष कटेको ठहर गरेको थियो ।

पीडितको उमेर १८ वर्ष कटेको भएपनि सन्दीपले सहमतिबिना नै शारीरिक सम्बन्ध राखेको भन्दै दोषी ठहर गरेको थियो । लामिछानेले गत फागुन २० गते उच्च अदालतमा पुनरावेदन दर्ता गराएका थिए। बलात्कार मुद्दामा आफू निर्दोष रहेको दाबी गरेका छन् ।

जिल्ला अदालत काठमाडौंले जबरजस्ती करणी मुद्दामा लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने फैसला गरेको थियो ।

नाबालिग बलात्कार गरेको आरोपमा गौशाला-२६ ले लामिछानेविरुद्ध गत वर्ष भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन्। तर,अदालतले जबरजस्ती करणीको जाहेरी दिने किशोरी नाबालिग नरहेको ठहर गरेको थियो ।

काठमाडौंको गौशालास्थित एक होटलमा लगेर बलात्कार गरेको आरोपमा पीडितले उजुरी दिएकी थिइन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *