अरुण गाउँपालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू

No ads found for this position
No ads found for this position

काठमाडौँ । भोजपुरको अरुण गाउँपालिकाले स्थानीय पाठ्यक्रम लागू गरेको छ । उक्त गाउँपालिकाले स्थानीय आवश्यकतामा आधारित कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम विकास गरी लागू गरेको हो । भोजपुरका ९ ओटा स्थानीय तहमध्ये स्थानीय पाठ्यक्रम विकास गरी लागू गर्नेमा अरुण गाउँपालिका चौथो स्थानीय तह बनेको छ । यसअघि भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका र पौवादुङमा गाउँपालिकाले स्थानीय पाठ्यक्रम विकास गरी लागू गरिसकेका छन् भने टेम्केमैयुङले कक्षा १ देखि ३ सम्म यसै शैक्षिक सत्रको सुरुदेखि स्थानीय पाठ्यपुस्तकसमेत तयार गरी पठनपाठन सुरु गरिसकेको छ । भोजपुरका अन्य स्थानीय तहले अझैसम्म स्थानीय पाठ्यक्रम तयार गरिसकेका छैनन् । जिल्लाका अधिकांश स्थानीय तहले स्थानीय पाठ्यक्रम विकास तथा निर्माण गर्न स्थानीय विज्ञ सम्मिलित समिति बनाए पनि विज्ञमा विज्ञताको अभावका कारण संभव हुन सकेको छैन ।  
 गाउँ शिक्षा समितिका अध्यक्षसमेत रहेका अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले यसै शैक्षिक सत्रको सुरुवातदेखि आफ्नो पालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा अनिवार्यरूपमा पठनपाठन गर्ने गरी ‘अरुणको सेरोफेरो’ नामक स्थानीय पाठ्यक्रम लागू गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अरुण गाउँपालिकाका समग्र विषयवस्तु समेटिएको स्थानीय पाठ्यक्रमले विद्यार्थी तथा शिक्षकमा राम्रो प्रभाव पार्नेमा म विश्वस्त रहेको छु ।”  
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका तथा धनकुटाको सहिदभूमि गाउँपालिकालगायतको स्थानीय पाठ्यक्रम विकास गरिसकेको सभ्यता अन्वेषण केन्द्र, काठमाडौँसँग आबद्ध स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखनविज्ञ जिचेन स्याङ्तान, प्रकाश खड्का र मिमबहादुर परियारद्वारा सरोकारवाला पक्षहरूबिच पुगी स्थलगत खोज–अन्वेषण, अध्ययन तथा अनुसन्धान गरी ‘अरुणको सेरोफेरो’ नामक स्थानीय पाठ्यक्रम तयार पारिएको हो । उक्त पाठ्यक्रम विकास, निर्माण तथा लेखनमा प्रा.डा. प्रेमकुमार खत्री, प्रा.डा. महेशराज दाहाल, प्रा.डा. ध्यानेन्द्रबहादुर राई, सहप्राध्यापक कृष्ण ओझा,  डा. विप्लव ढकाल,  पाठ्यक्रम विकास केन्द्रका पूर्व निर्देशक डा. गणेशप्रसाद भट्टराई सल्लाहकार रहनुभएको छ भने पाठ्यक्रम विकास तथा निर्माण विशेष परामर्शमा भवानी श्रेष्ठ, शशी लुमुम्बू र देवीप्रसाद घिमिरे रहनुभएको छ ।
उक्त पाठ्यक्रममा परिचय, तहगत सक्षमता, विषयवस्तुको क्षेत्र र क्रम, विषवस्तुको विस्तृतीकरण, एकीकृत पाठ्यक्रमका मूलभूत मान्यता र अरुण गाउँपालिकाको स्थानीय पाठ्यक्रम, कार्यघण्टा वितरण तालिका, विद्यार्थी मूल्याङ्कन प्रक्रिया र विद्यार्थीको सिकाइ उपलब्धि मूल्याङ्कन अभिलेखको नमुना गरी आठ ओटा खण्ड रहेका छन् । यसै गरी विषयक्षेत्रतर्फ कक्षा १ देखि ३ सम्म अरुणको सेरोफेरो, अरुणका संस्कार–संस्कृति, अरुणको पर्यटन, कृषि, पशुपालन, उद्योग, पेसा, व्यापार र व्यवसाय,  स्वास्थ्य, सरसफाइ तथा व्यक्तित्व विकास र खेलकुद तथा मनोरञ्जन राखिएका छन् भने कक्षा ४ र ५ मा अरुणको पर्यावरण र जैविक विविधता, अरुणको संस्कार–संस्कृति, कृषि, पशुपालन, उद्योग, पेसा, व्यापार र व्यवसाय, नागरिक चेतना, नैतिक शिक्षा र सुशासन, स्वास्थ्य, सरसफाइ तथा व्यक्तित्व विकास र खेलकुद तथा मनोरञ्जनलाई समेटिएको छ । यसै गरी कक्षा ६, ७ र ८ मा अरुणको वातावरण र विकासका पूर्वाधार, अरुणका सांस्कृतिक सम्पदा, प्राकृतिक प्रकोप र विपद् व्यवस्थापन, नागरिक चेतना, नैतिक शिक्षा र सुशासन, कृषि, उद्योग, पेसा, व्यापार तथा व्यवसाय र ध्यान–योग, स्वास्थ्य र व्यक्तित्व विकास राखिएको छ ।
पाठ्यक्रम विज्ञ डा. गणेशप्रसाद भट्टराईले देशका विभिन्न स्थानीय तहले बनाएका स्थानीय पाठ्यक्रममध्ये अरुण गाउँपालिकाको स्थानीय पाठ्यक्रम ‘अरुणको सेरोफेरो’ निकै स्तरीय भएको बताउनुभयो । उहाँले पाठ्यक्रमको विषयवस्तुको विस्तृतीकरणतर्फ विषयक्षेत्र, सिकाइ उपलब्धि, विषयवस्तुको विस्तृतीकरण, शिक्षण सिकाइ क्रियाकलाप, शिक्षण सामग्री र मूल्याङ्कन प्रक्रिया अत्यन्त वैज्ञानिक ढङ्गबाट राखिएकाले पाठ्यक्रम उत्कृष्ट बनेको विचार व्यक्त गर्नुभयो ।
‘अरुणको सेरोफेरो’ स्थानीय पाठ्यक्रमको  प्रमुख संरक्षकमा गाउँपालिका तथा गाउँ शिक्षा समितिका अध्यक्ष शालिकराम खत्री, संरक्षकमा गाउँपालिका उपाध्यक्ष विनिता ढकाल, सल्लाहकारमा प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा रहनुभएको छ । यसै गरी गाउँपालिकाद्वारा गठित स्थानीय पाठ्यक्रम विकास समन्वय समितिको संयोजकमा वडानम्बर–७ का वडाअध्यक्ष एवं सामाजिक समितिका संयोजक कुमार थापा, सदस्य सचिवमा शिक्षा शाखा प्रमुख मोहनसिंह साउदका साथै सदस्यमा ज्ञानेन्द्र दाहाल, बविन्द्र रसाइली, गणेशकुमारी मगर र शिवहरि खड्का रहनुभएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *