सिक्किम क्रान्तिकारी मोर्चाले ३२ मा ३१ सिट जित्यो

No ads found for this position
No ads found for this position
काठमाडौँ — सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले सिक्किम विधानसभामा एकलौटी जित हात पारेको छ ।
पूर्वमुख्यमन्त्री चाम्लिङ नाम्चेबुङ क्षेत्रबाट पनि पराजित भएका छन् । उनलाई यस क्षेत्रमा एसकेएमका राजु बस्नेतले हराएका हुन् । बस्नेतले ७ हजार १ सय ९५ मत ल्याउँदा चाम्लिङले ४ हजार ९ सय ३९ मत प्राप्त गरेका छन् ।
वर्तमान विधानसभामा चाम्लिङ एसडीएफका एक्ला सांसद थिए । स्यारी विधानसभा क्षेत्रमा एसकेएमका कुंगा निमा लेप्चालाई हराउँदै एसडीएफका तेन्जिङ नोर्बु लाम्ठा विजयी भएका छन् ।

वर्तमान मुख्यमन्त्री प्रेमसिंह तामाङ (पीएस गोले) भने रेनोक र सोरेङ-चाकुङ दुवै क्षेत्रमा विजयी भएका छन् ।

सोरेङ-चाकुङमा तामाङले एसडीएफ उम्मेदवार डा. एडी सुब्बालाई ७ हजार ३ सय ९६ मतको अन्तरले हराएका छन् । तामाङले १० हजार ४ सय ८० मत ल्याउँदा सुब्बाले ३ हजार ८४ मत ल्याए ।

त्यस्तै रेनोक क्षेत्रमा मुख्यमन्त्री तामाङले पूर्वमन्त्रीसमेत रहेका एसडीएफ उम्मेदवार सोमनाथ पौड्याललाई ७ हजारभन्दा बढी मतले हराए ।

सिक्किममा एसकेएमले चुनाव जित्नुमा लोककल्याणकारी योजनाहरूलाई कार्यान्वयन गर्नु भएको विश्लेषकहरूको भनाइ छ ।

सिक्किमका नेपाली समुदायलाई लागेको ‘विदेशी’को ट्याग हटाउन सफल भएको समेत एसकेएमको दाबी छ ।

केही दिनअघि सिक्किममा सरकार चलाएको ५ वर्ष पुगेको अवसरमा एसकेएमले आफ्ना उपलब्धिहरू सार्वजनिक गरेको थियो । त्यस्तै दलीय आधारमा हुने पञ्चायत चुनाव हटाइनुलाई पनि एसकेएमले आफ्नो उपलब्धिका रूपमा हेरेको छ ।

त्यस्तै शिक्षक, उपप्राध्यापकलगायतका अस्थायीखाले रोजगारलाई पनि एसकेएमको उपलब्धिका रूपमा हेरिएको छ । तामाङ सरकारले श्रमिकको ज्याला पनि मासिक १५ हजार भारतीय रुपैयाँ पुर्‍याएको छ ।
त्यस्तै गरिबीको रेखामुनि रहेका ५० सिक्किमेली विद्यार्थीलाई एमबीबीएस पढाउने योजना पनि लोकप्रिय रहेको छ । त्यस्तै एक वर्षे सुत्केरी बिदा, विद्यार्थी र किसानलाई विभिन्न सहयोग र अनुदानलगायतका योजना पनि सिक्किमेली जनताले मन पराएको देखिन्छ ।

सन् २०१९ को चुनावमा एसकेएमले १७ र एसडीएफले १५ सिट जितेको थियो । तर एसडीएफले उपनिर्वाचनमा २ सिट गुमाउन पुगेको थियो ।

एसडीएफका पवनकुमार चाम्लिङ र दोर्जी छिरिङ लेप्चाले २-२ सिटबाट जितेका थिए । उपनिर्वाचनमा भने एसडीएफले जितेका ती दुवै क्षेत्रमा एसकेएम विजयी भएको थियो ।

२५ वर्षदेखि सिक्किममा सरकार हाँकिरहेका चाम्लिङले चुनावमा पराजय मात्र भोगेनन्, आफ्नै सांसदहरूलाई पार्टीमा राख्न पनि सकेनन् ।

चुनाव जितेको केही दिनमा एसडीएफका १० सांसद बीजेपी प्रवेश गरेका थिए । उत्तरपूर्वी भारतीय राज्यहरूमा आफ्नो उपस्थिति बलियो बनाउने रणनीति चालेको बीजेपी एसडीएफका १० सांसद भित्र्याउँदै सिक्किममा दोस्रो ठूलो दल बनेको थियो ।

बीजेपी प्रवेश गरेका २ सांसद भने पछि एसकेएम प्रवेश गरे ।

तामाङको एसकेएम पार्टी सन् २०१४ मा स्थापना भएको हो  । पूर्वमुख्यमन्त्री नरबहादुर भण्डारीको पार्टी सिक्किम संग्राम परिषद् त्यागेर चाम्लिङ एडीएफले सन् १९९३ मा एसडीएफ गठन गरेका थिए ।

पार्टी गठनलगत्तै उनले भण्डारीको पार्टीलाई अल्पमतमा पारेका थिए । सन् १९९९ को निर्वाचनपछि चाम्लिङले बहुमत पाएर सरकार बनाएका थिए । ।

चाम्लिड सन् १९९४ देखि २०१९ सम्म सिक्किमको मुख्यमन्त्री बने । उनी सिक्किमका पाँचौँ मुख्यमन्त्री हुन् । सबभन्दा लामो समय मुख्यमन्त्रीको कुर्सीमा बस्ने उनी पहिलो भारतीय हुन् ।

उनी २५ वर्षदेखि मुख्यमन्त्रीको कुर्सीमा थिए । उनले पश्चिम बंगालका तत्कालीन मुख्यमन्त्री ज्योति वसुको नामको रेकर्ड पनि तोडेका छन् । यसअघि वसु सबभन्दा बढी समय मुख्यमन्त्री हुने नेता थिए ।

सिक्किममा पहिलो मुख्यमन्त्री काजी लेन्डुप दोर्जे हुन् । इन्डियन नेसनल कंग्रेसबाट जितेका उनी सन् १९७५ मे १६ देखि १८ अगस्ट १९७९ सम्म मुख्यमन्त्री भएका थिए ।

त्यसपछि करिब तीन महिना अर्थात् १८ अगस्ट १९७९ देखि १८ अक्टोबर १९७९ सम्म राष्ट्रपति शासन लागू भएको थियो ।

करिब तीन महिना लामो संक्रमणकालीन अवस्थापछि नरबहादुर भण्डारी सिक्किमको मुख्य मन्त्री बने ।

१८ अक्टोबर १९७९ देखि ११ मे १९८४ सम्म । उनी सिक्किम जनता परिषद् नामक पार्टीको नेता थिए । ११ मे १९८४ देखि २५ मे १९८४ सम्म करिब १५ दिन इन्डियन नेसनल कंग्रेसका नेता बीबी गुरुड मुख्यमन्त्री बने ।

करिब ११ महिनासम्म पुन: राष्ट्रपति शासन लागू भयो ।

८ मार्च १९८५ देखि १७ जुन १९९४ सम्म पुन: नरबहादुर भण्डारी मुख्यमन्त्री बने । त्यो बेला यिनको दलको नाम फेरिएर सिक्किम संग्राम परिषद् बनिसकेको थियो ।

हाल सिक्किममा यो दलको कुनै अस्तित्व नै छैन । भण्डारीपछि १७ जुन १९९४ देखि १२ डिसेम्बर १९९४ सम्मको करिब ७ महिना सञ्चमान लिम्बू मुख्यमन्त्री बने ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *