सङ्खुवासभामा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेपछि भुँइमा राखेर उपचार गरिँदै

No ads found for this position
No ads found for this position

काठमाडौं- सङ्खुवासभामा भाइरल ज्वरो, डेङ्गी तथा स्क्रब टाइफसका बिरामी बढ्न थालेपछि जिल्ला अस्पताल खाँदबारीमा बिरामीको चाप सँगै उपचार शय्याको पनि अभाव हुन थालेको छ।

साउनयता भाइरल ज्वरो र डेङ्गीका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शैय्या अपुग हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिए। उनले  भने, ‘शैय्या नहुँदा अहिले बिरामीलाई भुईंमा राखेर उपचार गरिरहेको छौँ।’

जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या अत्यधिक बढेकाले भुईँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ।

अहिले अस्पतालमा आउने अधिकांश बिरामी ज्वरो, डेङ्गी र स्क्रब टाइफसका भेटिएका सूचना अधिकारी खत्रीले बताए। उनका अनुसार वैशाखयता स्क्रब टाइफसका एक सय ६० र डेङ्गीका २७ जना बिरामी भेटिएका छन्।

गत आर्थिक वर्षमा एक हजार एक सय ४४ जनामा डेङ्गु, पाँच सय २० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको थियो। भाइरल ज्वरोले टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्ने र रुघाखोकी लाग्ने जस्ता लक्षण देखिने चिकित्सक बताउँछन्।

भाइरल ज्वरोले सङ्खुवासभाका सरकारी तथा निजी अस्पतालमा समेत बिरामीको सङ्ख्या बृद्धि हुँदै गएको छ। यो वर्ष जिल्लामा भाइरल ज्वरोको सङ्क्रमण अत्यधिक बढेको अस्पतालका सूचना अधिकारी खत्रीले बताए।

विसं २०३३ मा निर्माण भएको अस्पताल अहिले ५० शैय्यामा सञ्चालित छ। जिल्लाका १० स्थानीय तहका साथै छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल सङ्खुवासभा उपचारका लागि आउने गरेका छन्। -रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *