शिशुलाई स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न विशेषज्ञको आग्रह

No ads found for this position
No ads found for this position

चितवन ।  बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’ प्रयोग नगर्न आमालाई आग्रह गरेका छन् । विश्व स्तनपान सप्ताहको अवसरमा यहाँ आयोजित छलफल कार्यक्रममा चिकित्सकहरुले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताएका हुन्।

विश्व स्तनपान सप्ताहका अवसरमा कान्तिपुर हेल्थ अनलाइनद्वारा आज भरतपुरमा आयोजित ‘स्तनपानको महत्वस् चिकित्सक–पत्रकार छलफल कार्यक्रम’ मा भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा श्वेताकुमारी गुप्ताले स्तनपान गराउँदा आमाले मोबाइल प्रयोग गर्न नहुने बताइन् ।

उनले भनिन्, ‘आमाले मोबाइल चलाएर स्तनपान गराउँदा बच्चाले दूध खायो खाएन, अघायो, अघाएनलगायत केही कुरा पनि जानकारी हुँदैन ।’ उनले बच्चाको माया ममता पनि कम हुने जाने बताए । उनले भने, ‘स्तनपान गराउने समयमा शिशुलाई सुमसुमाउनु पर्छ, अन्यत्र ध्यान दिनुहुँदैन ।’

स्तनपान गराउँदा आमा र शिशु दुवैको आसनमा विशेष ध्यान दिन जरुरी रहेको बालरोग विशेषज्ञ डा. गुप्ताले बताइन् ।  शिशुलाई जन्मिएदेखि छ महिनासम्म आमाको दूधबाहेक पानीको आवश्यकता नपर्ने उनको भनाइ छ ।

बालरोग विशेषज्ञ डा गुप्ताले भनिन्, ‘नियमित स्तनपान गर्ने शिशुमा निमोनिया, झाडापखाला, दम जस्ता रोगहरु लाग्ने सम्भावना कम हुन्छ ।’ बच्चाको शारीरिक विकासका लागि सकेसम्म आमाको दूध खुवाउनुपर्ने बताउँदै उनले काममा जानुपरेमा आमाको दूध संकलन गरेर राखेर भए पनि खुवाउन सकिने बताइन् ।

उनले भनिन्, ‘आमाको दूध संकलन गरेर कोठाको तापक्रममा राखेमा ४ देखि ६ घण्टा र फ्रिजमा राखे २४ घण्टासम्म खुवाउन सकिन्छ ।’ फ्रिजमा राखेरको दूध सिधैँ नतताउन सुझाव दिँदै उनले भने, ‘तातो पानीमा अर्को भाडा राखेर दूधलाई तातो बनाउनुपर्छ, सिधैँ तताउनुहुँदैन ।’

शिशु जन्मिएको छ महिनापछि मात्रै पुरक खाना खुवाउन उपयुक्त हुने उनले बताइन् । अस्पतालमा शल्यक्रिया गरेर जन्मिएका नवजात शिशुहलाई दूध खुवाउन दिने गरी सरकारले नियम बनाउन सके यस्ता बच्चालाई आमाको दूध खुवाउन सकिने उनले उल्लेख गरिन् ।  अहिले शल्यक्रियाबाट जन्मिएका बच्चालाई सुरुआतमा बजारको पाउडर दूध खुवाउनुपर्ने अवस्था रहेको जनाउँदै उनले यसको अन्त्य गर्न सके बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो हुने बताइन् ।

कार्यक्रममा भरतपुर अस्पतालकका स्त्री तथा प्रसूति रोग विभागका प्रमुख विशेषज्ञ प्रा .डा. सुनिलमणि पोखरेलले शिशुलाई नियमित आमाको दूध खुवाउँदा बच्चा र आमा दुवैलाई फाइदा हुने बताए ।

नवजात शिशुलाई जन्मिएको छ महिनासम्म आमाको दूध मात्रै खुवाउन सके उसको स्वास्थ्य र शारीरिक विकास राम्रो हुने उनले बताए । शिशुलाई दिनमा ८ देखि १२ पटक दूध खुवाउन सके बच्चाका लागि फलदायी हुने उनको भनाइ छ ।

स्तनपानले गर्दा आमालाई हुने फाइदाका विषयमा बोल्दै उनले स्तनपान नियमित गराउने आमालाई स्तन र डिम्बासयको क्यान्सर हुने सम्भावना न्यून हुने बताए।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा पोखरेलका अनुसार नियमित स्तनपान गराउँदा महिलामा हुने रक्तस्रावमा कमी आउने गर्दछ । बच्चा जन्मिएको एक घण्टा भित्रमै आमाको दूध खुवाउन सके सालनाल छुटिनदेखि स्तन गानिने र पिप जम्ने जस्ता समस्याबाट छुटकारा पाउन सकिने उनले बताए ।

उनले भने,“कम्तीमा पनि दुई वर्ष बच्चालाई आमाको दूध खुवाउनुपर्छ । जसले गर्दा आमा र बच्चा बीचको ममतादेखि हरेक कुरामा सहयोग पुर्‍याउँछ ।” पछिल्लो समय शारीरिक सुन्दरताका लागि शिशुलाई आमाको दूध नखुवाउने गरेको पाईएको भन्दै उहाँले यस्तो गर्दा बच्चाको शारीरिक, मानसिक वृद्धि विकासमा समस्या पर्नुका साथै आमामा विभिन्न किसिमका समस्या देखिन सक्ने जानकारी दिए ।

रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *