मृतकको आत्मशान्तिका लागि वसन्तपुरमा मनाइयो गाईजात्रा

No ads found for this position
No ads found for this position

काठमाडौं- दिवङ्गत भएका आफन्तको सम्झना र आत्मशान्तिका लागि मनाइने गाईजात्रा पर्व काठमाडौंको वसन्तपुरमा मनाइएको छ।

नेवार समुदायका मृतकका परिवारहरूले आज बिहानैदेखि गाईजात्रा निकालेका थिए ।

दिवंगत भएका आफन्तको नाममा गाईको अनुहार र गणेशको चित्र अंकित गाई बनाएर सहर परिक्रमा गर्ने चलन छ । यसो गर्दा मृत व्यक्तिको आत्माले यमलोक जाँदा बाटोमा पर्ने वैतरणी नदी तर्छन् र मोक्ष मिल्छ भन्ने धार्मिक विश्वास छ ।

शहरमा गाई पाल्सेहरूले भने गाईलाई सिंगारेर नगर परिक्रमा गराउने गर्छन् भने केहीले जोगीको भेष धारण गरी रंगीबिरंगी कपडा, मुखुण्डो तथा लामो जामा र पटुका लगाएर सांस्कृतिक बाजागाजासहित नगर परिक्रमा गर्ने चलन छ ।

गाईजात्रा प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत छ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रसाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि जारी छ । देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ ।

गाईजात्रा पर्वको अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *