शिक्षिका र कर्मचारीद्वारा कटहरियाको सबै विद्यालयमा तालाबन्दी

No ads found for this position
No ads found for this position

रौतहट । तलव भत्ताको माग गर्दै बाल विकास शिक्षिका र विद्यालय कर्मचारीहरुले कटहरिया नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयमा तालाबन्दी गरेका छन् ।

कर्मचारी र शिक्षिकाले विद्यालय समय अगावै विद्यालयहरुको मूल गेटमा तालावन्दी गरेको कारण बुधबार पठनपाठन अवरुद्ध भएको कटहरिया १ माबी भासेढवाका प्रधानाध्यापक राम मंगल यादवले बताएका छन्। तालाबन्दीका कारण कटहरियाको सम्पूर्ण माबी ५ निमाबि ५ र प्राबी १४ गरी २४ विद्यालयको पठनपाठन हुन नसकेको नगर शिक्षा संयोजक अनिल कुमार निधिले पुष्टी गरेका छन् ।

तलव भत्ताको माग गर्दै उनीहरू पछिल्लो एक महिना देखि आन्दोलित भएका छन्। कटहरिया स्थित तलब भत्ताको माग गर्दै शिक्षिका तथा विद्यालय कर्मचारी धर्नामा बसेका थिए। हिजो मंगलबार सम्म तलब भत्ता नपाएमा आज बुधवारदेखि नगरको सम्पूर्ण सामुदायिक विद्यालय बन्द गर्ने अग्रिम घोषणा सँगै प्रेस विज्ञप्ती जारी गरेका थिए।

नेपाल विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक युनियन नगर कार्यसमितिको आयोजनामा शिक्षिका तथा विद्यालय कर्मचारी गत आइतबारदेखि कार्यालय समय बिहान १० देखि ४ बजेसम्म नगरपालिका प्राङ्गणभित्र धर्नामा बसेका थिए ।

सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताले आर्थिक वर्ष २०७९१०८० को वैशाखदेखि अषाढ मसान्तसम्मको न्यूनतम थप तलव , यस आर्थिक वर्षको वैशाखदेखि हालसम्मको तलब र प्रति महिना दुईहजारको दरले प्रोत्साहन भत्ता समेतको रकम निकासा नभएर कसैले पनि नपाएर कठिनाई भएको छ।

कटहरियास्थित सम्पूर्ण सामुदायिक विद्यालयहरुमा बिद्यालय कर्मचारी र बाल शिक्षा सहयोगी कार्यकर्ता गरी ६४ जना कार्यरत रहेका छन्।

कटहरिया नगरपालिकाका मेयर अजय प्रकाश जैसवाल उपमेयर रितादेवी यादव सहित जनप्रतिनिधि कर्मचारी गरी ११ जना भ्रष्टाचार मुद्दामा अख्तियारद्वारा दोषी ठहर भएर झण्डै ३ महिना अघि निलम्बित भएपछि बाल विकास शिक्षिका तथा विद्यालय कर्मचारी तलब सुबिधा पाउनबाट बञ्चित भएका छन्। गत आर्थिक वर्षको अन्तिम महिना असारमा प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र प्रधानले चासो नलिएको कारण तलब सुबिधा पाउन नसकेको उनीहरूको आरोप रहेको छ।

करार तथा दैनिक ज्यालादारीको नाउँमा मेयर जैसवालले बार्षिक करोडौं रकम निकासा गराउँछन्। तर दिनरात मिहिनेत गरेका विद्यालय कर्मचारी तथा बालविकास शिक्षिकाको तलब भत्ता निकासा गराउन मेयर जैसवालसंगै नगर शिक्षा संयोजक अनिल कुमार निधिले समेत चासो नदेखाएको पीडितहरुले गुनासो गरेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *