मकैका घोगा कुहिन थालेपछि किसान चिन्तित

No ads found for this position
No ads found for this position

धादिङ । मकैका घोगा कुहिएर बोट सुकेपछि जिल्लाको थाक्रे गाउँपालिका–६ रानीबारीका किसान चिन्तित बनेका छन् । बिरुवा उम्रिएपछि राम्रोसँग हुर्किए पनि दाना लाग्नेबेला घोगा कुहिएर गन्हाउन थालेपछि किसान चिन्तामा परेका हुन् ।

पोलेर खान मिल्ने भएदेखि हरियो घोगा बेचेर नगद लिने किसानले अहिले आफैँले मकै चाख्न पाएका छैनन् । बोटमा घोगा कुहिएर गन्हाएकाले अहिले किसान बारीमा जान सक्ने अवस्था नरहेको रानीबारीका किसान हरि थापाले बताए ।

थाक्रे गाँउपालिकामार्फत वडा कार्यालयले ५० प्रतिशत अनुदानमा मकैको बीउ उपलब्ध गराएको थियो । किसानले सोही बीउ बारीमा लगाएका थिए । “बिरुवा हुर्कदासम्म राम्रै देखिन्थ्यो । जब बोटले सुत्ला च्याप्ने बेला भयो जुँगा चाहिँ सेतो निस्कियो”, थापाले भने, “घोगामा दाना लाग्न थालेपछि बोटसहित घोगा कुहिन थाल्यो । केही दिनपछि बोटै सुक्न थाल्यो ।”

स्थानीय सरकारले अनुदानमा उपलब्ध गराएर रानीबारीका किसानले लगाएको मकै सिपी जातको हो । बारीमा ढोड र मकैको घोगा कुहिएर जान सक्ने अवस्था नरहेको थापाको भनाइ छ । छ किलोग्राम मकैको बीउ लगाएकामा पोलेर खान नपाएको किसानले सुनाएका छन् । वडा नं ६ को रानीबारीका मात्रै ६० जनाभन्दा बढी किसानले यही समस्या भोग्नुपरेको छ ।

“सबै ठाउँमा मकै भित्र्याएर कोदो लगाउने बेला भयो । परम्परागत मकैको बिउ लगाउनेले अघिल्लो वर्षकै जस्तो फलाएका छन्”, किसान गुरुदत्त गर्तौलाले भने । उनले १८ रोपनी बारीमा आठ किलोग्राम सिपी जातको मकै लगाएका थिए ।

“बिरुवा उम्रदा बारीमा बोट राम्रै थियो । सुत्ला पनि राम्रै देखिन्थ्यो मकैमा दान लाग्न सुरु भएपछि धानचमारा सुक्न थाल्यो । केही दिनमा बोट र घोगा कुहिन थाल्यो”, गर्तौलाले भने, “ढोड र मकैको घोगा कुहिएर बारीमा पस्नसक्ने अवस्था छैन ।”

सेतो जुँगा भएको मकैमा यो समस्या देखिएको गर्तौलाको बुझाइ छ । “मेरो बारीमा १५ देखि १८ क्विन्टल मकै फल्थ्यो । यस वर्ष एक घोगा घरमा ल्याउन पाइएन”, उनले भने ।

धेरै फलाउने आशामा रहेका किसानले मकै भित्र्याउन नपाएका रानीबारीका किसान कृष्णबहादुर थापाले गुनासो गरे। “भएजति बारी सबै ठाउँमा यही बीउ लगाएँ । अहिले पोलेर खान पनि पाइन”, उनले भने, “सरकारले मकैको क्षतिपूर्ति दिनुपर्छ ।”

गाउँपालिकामार्फत वडा कार्यालयले अनुदानमा उपलब्ध गराएको मकैमा समस्या देखिएको जानकारी वडा र गाउँपालिका कार्यालयलाई भएको वडा नं ६ का वडाध्यक्ष हिराबहादुर थापाले बताए । “कृषि शाखामार्फत बीउ खरिद तथा वितरण गरेका थियौँ । अहिले समस्या आएपछि स्थलगत अवलोकन गरेर अनुसन्धान गरिरहेका छौँ । किसानको हितमा के गर्न सकिन्छ छलफल पनि भइरहेको छ”, उनले भने ।

यस वर्ष एक हजार दुई सय ३० किलो बीउ वितरण गरेकामा तीन सय २० किलोमा समस्या देखापरेको कृषि शाखा प्रमुख सौगात थापाले जानकारी दिए । मकैको बीउ सप्लार्यस कम्पनी कर्मा सिड र स्थानीय बिक्रेता वाग्ले एग्रोभेटलाई पत्राचार गरी कारण पत्ता लगाउन भनिएको उनले बताए । बीउ खराबीका कारण समस्या आएको भए किसानले क्षतिपूर्ति पाउने उनको भनाइ छ ।

रासस



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *