बीपी राजमार्गमा रातको समय ७ घण्टा सवारी बन्द हुने
काठमाडौं । गत असोज ११ र १२ गतेको बाढी पहिरोले क्षतिग्रस्त बीपी राजमार्ग राति ९ बजेदेखि बिहान ४ बजेसम्म दैनिक ७ घण्टा सवारी सञ्चालनमा बन्द हुनेभएको छ ।
सडक डिभिजन कार्यालय भक्तपुरका अनुसार बीपी राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म गएरातिबाट ७ घण्टा सवारी साधन सञ्चालन बन्द गरिने जनाएको छ ।
सडकखण्ड अन्तर्गत चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेकाले सडक बन्द गरिएको हो ।
रातिको समयमा राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको सडक डिभिजन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा जनाइएको छ ।
सडक कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको समयमा उक्त राजमार्गमा गाडी नचलाउन आग्रह गरेको छ ।