सडक निर्माण मात्र विकास होइन, जथाभाबी मेसिन प्रयोग गर्नु घातकः उपप्रधानमन्त्री सिंह
काठमाडौं- उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका कामहरु गर्नुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयु हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले जथाभावी सडक तथा बाटो निर्माण गर्दा बाढी पहिरोजस्ता प्राकृतिक विपद्हरुको सामना गर्नुपरेको बताए।
उनले भने‘गाउँपालिका तथा नगरपालिकाहरुमा जुन बाटो हामीले बनाइरहेका छौं त्यसका कारणले भूक्षय हुने, बाढी पहिरो जाने समस्याहरु देखिरहेका छौं । बाटो र सडक निर्माण मात्र विकास निर्माण र समस्याको समाधान होइन भन्ने गत असोजमा गएको बाढी, पहिरोले समेत पुष्टि गरिसकेको छ । त्यसकारण अब हामीले वातावरण र प्रकृतिमैत्री प्रविधिहरु प्रयोग गरेर बाटोहरु निर्माण गर्दा प्रभावकारी र राम्रो हुन्छ भन्ने मेरो बुझाई छ । त्यसमा पनि जुन हिसावको हाम्रो भौगोलिक अवस्थिति छ, यसमा पनि हामीले गम्भीर भएर सोचेर मात्र विकास निर्माणका कामहरु गर्नुपर्दछ भन्ने मलाई लाग्दछ । हतारमा मेसिनहरुको प्रयोगमात्र गरेर हुँदैन । विकास निर्माणका कामको दिगोपना पनि त हामीले याद गर्नुपर्यो ।’
नेपालमा सडक तथा बाटो निर्माण गर्दा मेसिनहरुभन्दा जनशक्ति उपयोग गरेर निर्माण गर्दा दिगो एवं प्रकृतिमैत्री हुने उनले बताए ।