उपनिर्वाचनको नतिजाले एमाले निराशाजनक छैन, तर समिक्षा गर्छौंः ईश्वर पोखरेल
काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह उपनिर्वाचनको समिक्षा गर्ने बताएका छन् ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले उपनिर्वाचनको समग्र प्रतिवेदन आएपछि पार्टीका तर्फबाट भएका कमी, कमजोरीबारे समिक्षा गर्ने बताएका हुन् । उनले २०७९ सालको निर्वाचनमा पराजित भएका केही ठाउँमा समेत नेकपा एमाले विजयी भएको बताए ।
उनले भने,‘उपनिर्वाचनको परिणाम निराशाजनक छैन । उपनिर्वाचनमा हामीले गत निर्वाचनमा पराजित भएका ठाउँहरुमा पनि जितेका छौं । अरु पार्टीहरुले लामो समयदेखि जित्दै आएका ठाउँहरुमा पनि जितेका छौं । केही हामी आफ्नो पकड भएको क्षेत्रमा पराजित भएको अवस्था पनि छ । तर उपनिर्वाचनको समग्र रिपोर्ट आइसकेपछि हामी समिक्षा पनि गरौंला कहाँ के कमजोरी भयो ? हामीले आफ्नो शक्ति विन्यास गर्ने कुरामा कतै तलमाथि भयो कि त्यो बुझौंला ।’
यस्तै उनले नतिजा निराशाजनक नभएको र कीर्तिपुरमा २०७९ को निर्वाचनबाट आएको परिणामा पनि आँफू जानकार भएको बताए ।
उनले भने,‘त्यसबेला डल्लै गठबन्धन पनि थिएन र पनि हामीले जित्न सकेका थिएनौं । हामीले उक्त निर्वाचनभन्दा अहिले प्रगति गरेका छौं । तर, पनि परिणाम हाम्रो पक्षमा रहेन । त्यहाँ हाम्रा केही कमजोरी भएका हुनसक्छन् । हामीले पुनरावलोकन पनि गर्नुपर्ने हुन्छ । यता काठमाडौं महानगरको १६ नम्बरको पनि अवस्था त्यही हो । महत्वपूर्ण वडा हो तर त्यहाँ हामीले जित्न सकेनौं । त्यसमा भएका कमी,कमजोरीलाई हामी हेर्छौं र कसरी सम्हालिनुपर्छ त्यसैगरी अगाडि बढ्छौं । अहिले एउटा भाष्य खडा गरिँदैछ पुराना दल आउटडेटेड भए । त्यो जनताको मतबाट पुष्टि भएन । कायम छन् भन्यो ।’
उपनिर्वाचनबाट एमालेले निर्वाचनसँग गाँसिएका कुराहरुमा थप व्यवस्थित ढंगको व्यवस्थापन गर्नुपर्छ भन्ने पाठ सिकेको र त्यही आधारमा अघि बढ्ने उनको भनाइ छ ।