युवाहरुलाई खेलप्रति आकर्षित गराउनु पर्छ: सभामुख घिमिरे
काठमाडौं । संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल भएको छ । मंगलवार काठमाडौंमा प्रतिनिधि सभा सभामुख र राष्ट्रिय सभा अध्यक्षको नेतृत्वमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता भएको हो ।
१८ औँ संसद सेवा दिवसको अवसरमा आयोजित फुटसल प्रतियोगितामा प्रतिनिधि सभाको टिमको नेतृत्व सभामुख देवराज घिमिरेले गरे भने राष्ट्रिय सभा टिमको नेतृत्व अध्यक्ष नारायणप्रसाद दाहालले गरे ।
फुटसल खेलका क्रममा सभामुख घिमिरेले युवापुस्तालाई खेलप्रति आकर्षण गर्न फुटसलको आयोजना गरेको बताए ।
उनले भने, ‘आज संघीय संसद सेवा दिवस हो । संसद सेवा स्थापना भएको १८ वर्ष पुरा भयो । यसका अवसमा हामी सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु गरिरहेका छौं । त्यहीअनुसार आज प्रतिनिधि सभाको एउटा टिम र राष्ट्रिय सभाको एउटा टिम बनाएर फुटसल खेलिरहेका छौं । टिम क्याप्टेन राष्ट्रिय सभाको सम्माननीय अध्यक्षज्यु हुनुहुन्छ । प्रतिनिधि सभाको म छु । यसले युवाहरुलाई खेलप्रति आकर्षित गर्नुका साथै हामीहरुलाई पनि खेल प्रेमि छन् भन्ने सन्देश दिनेछ ।’
राष्ट्रिय सभा अध्यक्ष दाहालले युवाहरुलाई खेलकुद क्षेत्रप्रति आकर्षित गर्दै खेल क्षेत्रको समग्र विकासका लागि यस प्रतियोगिताले मद्दत गर्ने विश्वास व्यक्त गरे। उनले युवाहरुलाई खेलप्रति धेरै भन्दा धेरै आकर्षण गर्न जरुरी रहेको बताए ।
फुटसल प्रतियोगितामा संघीय संसदका दुवै सदनका सांसद एवं कर्मचारीहरु सहभागि छन् ।