एनपिएलः काठमाण्डुको तेस्रो जित, पोखरा ६ विकेटले पराजित
काठमाडौं । पोखरा एभेन्जर्सलाई ३५ बल अगाडि ६ विकेटले पराजित गर्दै काठमाण्डु गुर्खाजले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको प्लेअफमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।
टियु क्रिकेट मैदानमा जितको लागि १३९ रनको विजय लक्ष्य काठमाण्डुले १४ ओभर १ बलमा ४ विकेटको नोक्शानीमा पूरा गर्यो । ओपनर स्टेफन इस्किनाजी र माइकल लेभिटलेपहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे । लेभिट ३२ रनमा आउट भए । स्टेफनले भने अर्धशतकीय पारी खेले । उनले ३४ बल खेल्दै १० चौका प्रहार गर्दै ६० रन जोड्दा काठमाण्डुको जित सहज बन्यो । यस्तै भीम सार्कीले २२ रन बनाउँदा जेरहाड इरासमस अविजित २५ रनमा क्रिजमा रहे । बलिङमा विपिन खत्रीले ३ विकेट लिए ।
यसअघि पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १३८ रन बनायो । रेमन रिफरले अविजित ४१, दिनेश खरेलले ३८ र दीलिप नाथले २७ रन बनाउँदा अन्य खेलाडीहरूले दोहोरो रन छुन सकेनन् । पोखरालाई १३८ रनमा रोक्न करण केसी र रसिद खानले समान ३/३ विकेट लिए ।
यो जितले काठमाडौंको प्लेअफ प्रवेशको सम्भावना बलियो बनेको छ । उसको यो चौथो जित हो र आठ अंक जोडेको छ । काठमाण्डुले अन्तिम खेलमा आईतवार विराटनगर किंग्ससँग खेल्नेछ । पोखराको यो चौथौ हार हो ।