रविसहित ३१ जनाविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा पेश
कास्की । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति तथा पुर्व गृह मन्त्री रवि लामिछानेसहित ३१ जनाविरुद्धको अभियोग जिल्ला अदालत कास्की पेश भएको छ ।
सरकारी वकिल कार्यालय कास्कीले प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा पेश गरेको हो । अहिले कास्की अदालतले रुजु गर्ने काम गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनी माथी छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्व सञ्चालक छविलाल जोशी लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय सरकारी वकिलको कार्यालयमा पुगेको छ ।
सहकारी ठगिमा लामिछाने माथीको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै गत पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो । चार दिनको म्याद गत शुक्रबार सकिए पनि शनिबार सार्वजनिक बिदा भएकाले आइतबार मात्रै अदालतमा मुद्दा दर्ता गरिएको हो ।
कानुन बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आइतबारसम्म समयसीमा भएकाले आजै मुद्धा दर्ता गर्न परेको कास्की प्रहरीले जानकारी दिएको छ ।