सर्वेन्द्र खनालले छाडे एमाले
काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख तथा एमाले नेता सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिदैँ एमालेमा समेत नरहेको घोषणा गरेका हुन् ।
उनले भनेका छन्– ‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन ।’
उनले राष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्याउन र राष्ट्रलाई महान् बनाउन सम्पूर्ण प्रयास जारी रहने उल्लेख गरेका छन् । देश र जनताको हितका लागि सधैँ लडिरहने उनले बताएका छन् ।
खनाल २०७९ साल असोज ५ गते एमालेमा प्रवेश गरेका थिए । खनाल एमालेमा प्रवेश गरे पछि उनलाई संघीय संसदको २–२ पटक टिकट दिइएको थियो । काठमाडौं– ६ र तनहुँ बाट टिकट दिए पनि उनी दुवै स्थानमा पराजित भएका थिए ।