आँखा उपचारसँग जोडिने चश्माको भ्याट र भन्सारमा छुट दिन्छौं: स्वास्थ्यमन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आगामी वर्षदेखि आँखाको उपचारमा जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्ने बताएका छन् ।
शुक्रवार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रिय सभाको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले चश्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने भएको उल्लेख गर्दै उपचारसँग सम्बन्धित चश्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आगामी वर्षदेखि गर्ने घोषणा गर् ।
उनले भने, ‘उपकरण उपलब्ध गराउने कुरा, पूर्वाधार व्यवस्थित गर्नेकुरा पनि महत्वपूर्ण विषय हो । उपकरण उपलब्ध गराउने सन्दर्भमा यहाँहरुले सञ्चालन गर्नुभएका स्वास्थ्य संस्थाहरुमा, उपचार संस्थाहरुमा उपकरण उपलब्ध गराउन हामी संयुक्त ढंगबाट काम गरौं । उपकरण थप गर्ने र व्यवस्थित गर्ने हामीले कोशिस गरौँ । पूर्वाधार विकासमा पनि व्यवस्थित गर्नेगरी हामीले अघि बढौँ । ठूला ठूला भवन भन्दा साना साना व्यवस्थित पूर्वाधार बनाएर हामी अघि बढ्नुपर्छ । चश्माको कुरा गर्नुभएको छ । चश्मा दुई प्रकारको हुन्छ । एउटा फेसनसँग जोडिएको पनि हुन्छ । अर्को आँखासँग जोडिएको हुन्छ । आँखासँग जोडिएको उपचारको कक्षसँग जोडिएको चश्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था हामीले आगामी वर्ष गर्नेछौँ । अरु पनि उपचारात्मक सन्दर्भमा जति पनि सामानहरु बाहरिबाट किनेर ल्याउँछौँ, सहयोगबाट पनि ल्याउँछौँ । त्यस्ता सीमानमा भन्सार छुट गर्ने व्यवस्था छ ।’
मन्त्री पौडेलले आँखा उपचारका लागि नीतिगत क्षेत्रको सुधार गर्न सरकार तयार रहेको बताए । उनले आँखा उपचारका लागि नीतिगत पक्षबाट प्रभावकारी बनाउन सरकार लागिपरेको बताए।