रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो
काठमाडौं । जिल्ला प्रहरी परिसर भद्रकालीको हिरासतमा राखिएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराइएको छ । उनलाई स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेकको बहसका निम्ति अदालतमा उपस्थित गराइएको हो ।
हिजो सार्वजनिक बिदा भएका कारण उनलाई आज अदालतमा उपस्थित गराइएको हो ।
आइतबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका रविको सो दिन बयान सकिए पनि थुनछेक बहस नहुँदा न्यायिक हिरासतमा पठाइएका थिए ।
सोमबार थुनछेक बहस भयो । तर, जाहेरवाला पक्षका कानुन व्यवसायीको बहस सकिएन । अदालतले कार्यालय समयभन्दा बढी बहस नगराएपछि रवि पुनः न्यायिक हिरासतमा पठाइए । मंगलबार सार्वजनिक बिदा भएकाले उनी हिरासतमै राखिए । आज पुनः थुनछेक बहस निरन्तर हुनेछ ।