अमेरिकामा टिकटक बन्द
काठमाडौं । संयुक्त राज्य अमेरिकामा टिकटक बन्द भएको छ । शनिबार मध्यरातदेखि प्रयोगकर्ताहरुको डिभाइसमा टिकटक खुल्न छोडेको हो ।
अहिले एप्पलको आइओस एप स्टोर र गुगलको प्ले स्टोरमा टिकटक उपलब्ध छैन । अमेरिकी कंग्रेसले गत अप्रिलमा टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सलाई या त यो एप गैरचिनिया मालिकलाई बेच्नुपर्ने वा प्रतिवन्ध खेप्नुपर्ने कानून पारित गरेको थियो । टिकटकले दोस्रो विकल्प रोज्यो ।
टिकटकले सुरुदेखि अमेरिकाले दिएको पहिलो विकल्पलाई अस्वीकार गर्दै आएको थियो । गैरचिनियालाई विक्री गर्ने प्रस्तावबारे उसले स्पष्ट शब्दमा भनेको थियो– व्यवसायीकरुपमा, प्राविधिकरुपमा र कानूनीरुपमा यो सम्भव छैन । कम्पनी यही अडानमा निरन्तर कायम रह्यो ।
अमेरिकाले पाँच वर्ष लामो कसरतपछि टिकटक बन्द गराएको हो । सन् २०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक कार्यकारी आदेशमार्फत प्रतिवन्धको प्रस्ताव गरेका थिए । तर, उनी त्यसमा सफल भएनन् । त्यसपछि कंग्रेसका धेरै सदस्यहरुले टिकटक प्रतिवन्धबारे विभिन्न उपायहरु अघि सारे ।
टिकटकले प्रतिवन्धको कानूनलाई अमेरिकी अदालतमा चुनौति दिएको थियो । प्रतिवन्धको निर्णय अभिव्यक्ति स्वतन्त्रताविरुद्धमा रहेको भन्दै दायर गरेको रिट अदालतले खारेज गरिदिएपछि सरकारलाई बाटो खुलेको हो । अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन् ।