कार्यदल बैठकमा अझै सहमति जुटेन, संसद बैठक अनिश्चित
काठमाडौं- सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक निष्कर्षमा पुग नसकेपछि संसदको बैठक प्रभावित भएको छ ।
बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ ।
शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो ।
कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र रास्वपाबाट शिशिर खनाल रहेका छन् । अहिले कार्यदलको बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकपनि मिसिएका छन् ।
अहिले कार्यदलमा छानबिनको दयारा बारे विवाद रहेको छ । रास्वपाले संसदीय समितिले गृहमन्त्रीलाई तोकेर छानबिन गर्न नसक्ने अडान लिदै आएको छ भने एमालेले व्यक्ति तोकेर छानबिन हुननसक्ने बताउदै आएको छ ।
त्यस्तै नेपाली कांग्रेसले भने सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकोले छानबिन उनीमाथि पनि हुनुपर्ने बताउदै आएको छ ।
कार्यदलमा अहिलेसम्म सहमति नभएपछि बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक बस्ने विषय अन्योलमा रहेको छ ।