पासाङ ल्हामु शेर्पालाई जीवित राख्न लुक्लामा स्मृति ग्यालरी स्थापना (तस्बिरहरु)

No ads found for this position
No ads found for this position

सोलुखुम्बु- राष्ट्रिय विभूति एवं पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाको स्मृति ग्यालरीको स्थापना स्थापना भएको छ ।

उनको जीवनकालका काम र उपलब्धिलाई स्मरण गर्ने लक्ष्यले खुम्बु पासाङल्हामु गाउँपालिका-२ लुक्लामा ग्यालरीको स्थापना भएको हो ।

पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको अगुवाइमा निर्माण गरिएको उक्त ग्यालरीको आइतबार उद्घाटन गरिएको छ ।

लामा विधिबाट पूजापाठ गरी खुम्बु पासाङल्हामु गाउँपालिका-४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले रिबन काटेर ग्यालरीको उद्घाटन गरेको प्रतिष्ठानका महासचिव छेटु शेर्पाले जानकारी दिए ।

ग्यालरीमा राष्ट्रिय विभूति शेर्पाको सन् १९६१ देखि सन् १९९३ सम्मको जीवनकालको गतिविधिसँगै विभिन्न हिमाल आरोहणको इतिहासलाई समेटिएको छ । उनले गरेका लैङ्गिक समानता र नेतृत्वको भावलाई सरकारले गरेको सम्मान र उपलब्धिहरू समेत ग्यालरीमा समावेश गरिएको महासचिव शेर्पाले जानकारी दिए ।

उनको जन्मस्थल रहेको गाउँपालिका खुम्बुमा भविष्यमा पासाङ ल्हामु म्युजियमको स्थापना गर्ने लक्ष्यसहित उक्त कार्यका लागि सुरुवाती चरणको कामका लागि ग्यालरीको स्थापना गरिएको प्रतिष्ठानले जनाएको छ ।

उद्घाटनकै दिन स्वदेशी तथा विदेशी पर्यटक गरी ५ सय बढी पर्यटकहरूले ग्यालरीको अवलोकन गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले लुक्ला सँगै पोखरामा रहेको अन्तर्राष्ट्रिय पर्वतीय म्युजियममा पनि पासाङ ल्हामुको ग्यालरी स्थापना गर्ने तयारी गरेको जनाएको छ ।

पासाङ ल्हामु शेर्पाले सन् १९९३ अप्रिल २२ का दिन पहिलो पटक नेपाली महिलाको तर्फबाट सगरमाथाको आरोहण गरेकी थिइन् । ग्यालरीमा राष्ट्रिय विभूति शेर्पाको सम्पूर्ण जानकारीसँगै सगरमाथा आरोही नेपाली महिलाहरू र प्रख्यात महिला आरोहीहरूको जानकारीहरू समेत समावेश गरिएको छ ।

हालसम्म ६१ जना नेपाली महिलाले सगरमाथाको आरोहण गरी सकेका छन् । पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानले नेपालमै पहिलो पटक इन्डोर वाल क्याइम्विङ सेन्टर स्थापना गरी पर्वतारोहण क्षेत्रको प्रवर्द्धन र लुक्लामा पासाङ ल्हामु निकोल निकी अस्पताल स्थापना गरी सेवामूलक कार्य गर्दै आएको छ ।

यता महिला पर्वतारोहीहरूका लागि जीविकोपार्जन सम्बन्धी तालिम तथा क्षमता अभिवृद्धि र हिमाली क्षेत्रका महिला तथा बालबालिकाहरूका लागि शिक्षा स्वास्थ्यको क्षेत्रमा सेवामूलक कार्य गर्दै आएको छ ।

तस्बिरहरुः खुम्बु पासाङ ल्हामु गाउँपालिका- २ लुक्लामा स्थापना गरिएको पासाङ ल्हामु स्मृति ग्यालरीबाट ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *