प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाइएका मेडिकल व्यवसायी प्रसाईं पक्राउ
काठमाडौं। दुर्गा प्रसाईं पक्राउ फेरि परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट मंगलबार बिहान पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई नियन्त्रणमा लिएको हो। प्रसाईंलाई सीआईबीले साइबर ब्युरोमा बुझाउने भएको छ।
विद्युतीय कारोबार (साइबर) अपराधसम्बन्धी कसुरमा अनुसन्धान लिनका लागि उनलाई नियन्त्रणमा लिइएको हो।
यस्तै उनीविरूद्ध किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुने प्रहरीले बताएको छ।
प्रसाईं माथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो । प्रसाईंले हिजो प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाइएका सामग्री सामाजिक सञ्जालमा फैलाएको आरोप छ।
उनले प्रधानमन्त्रीको हस्ताक्षर नै किर्ते गरेको प्रहरीको भनाइ छ।
विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी प्रसाईं यसअघि असोज ६ गते पक्राउ परेका थिए। रास्वपाकी एक केन्द्रीय सदस्यले दिएको जाहेरीअनुसार उनीविरूद्ध साइबर अपराधसम्बन्धी मुद्दा काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। उक्त मुद्दामा उनी १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन्।