म्याद थपका लागि दुर्गा प्रसाईंलाई आज अदालत लगिने
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा पेस गरिने भएको छ ।
प्रसाईंले प्रधानमन्त्री ओलीको कम्बोडियाको टेलिकममा ३३ अर्ब लगानी रहेको दाबी गर्दै प्रचार गरेका थिए । ओलीविरुद्धको यो प्रचार भ्रामक रहेको भनि प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
मेडिकल परीक्षण र आवश्यक प्रमाण जुटाउने क्रममा मंगलबार समय लागेकाले उनलाई आज अदालतमा पेस गर्न लागिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई हिजो साइबर अपराधको कसुरमा भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो ।
सीआईबीले प्रसाईंलाई पक्राउपछि नेपाल प्रहरीको साइबर ब्युरो भोटाहिटीमा राखेको छ । प्रसाईंमाथि सुरुमा साइबर अपराधमा अनुसन्धान हुनेछ ।
प्रसाईं यसअघि एक महिलाको चरित्र हत्या गरेको आरोपमा साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ परेर छुटेका थिए ।