प्राधिकरणमा कार्यकक्ष बनाएका उर्जामन्त्री खड्कालाई बर्खास्त गर्न माग
काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यकक्ष बनाउने उर्जामन्त्री दीपक खड्कालाई बर्खास्त गर्नुपर्ने माग चौतर्फी उठेको छ ।
उर्जामन्त्रीको उटपट्याङ कार्यले सरकारकै आलोचना भएको भन्दै सत्तारुढ दलहरुले नै विरोध गरिरहेका छन् ।
प्राधिकरणको अध्यक्षको हैसियतले कार्यकक्ष बनाएको भन्ने मन्त्रीको हर्कतको नागरिक समाजबाट पनि विरोध सुरु भएको छ । बरिष्ठ पत्रकार विजय कुमार पाण्डेले मन्त्री खड्काको कामको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानकार्षण गराएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूसँग चित्त नबुझेको घटना सेयर गर्दैछु, नेपाल विद्युत प्राधिकरणमा कार्यालयमा दिपक खडका मन्त्रीजीले रातोरात आफ्नो कार्यालय स्थापना गर्नु हो । सबै मन्त्रीले आफू मातहतका संस्थाहरु र कार्यालयहरुमा , यसरी नै कार्यालयहरु स्थापना गर्दै जाने काम एसियाको दोस्रो गरिब देशमा न्यायिक हो ? कानुनी त होला पनि भनेर तर्क गर्न सकिन्छ । तर के न्यायिक हो ?’
उनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सरकारको चित्त नबुझे कारवाही गर्न सुझाएका छन् ।
‘कुलमान घिसिङसँग यदि सरकारलाई खपि नसक्नुभएको हो भने उनलाई तत्काल बरखास्त गरौं । होइन भने उनी माथि सस्तो राजनीति बन्द गरौं । नेताले कर्मचारीसँग राजनीति गर्नु हुँदैन । जरुरी भए, उस्लाई पुरस्कृत वा दण्डित गर्नुपर्छ,’ उनले भने ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङमाथि सरकारले प्रतिशोधपूर्ण व्यवहार गर्दै आएको छ । नेपालमा लोडसेडिङ अन्त्य गरेर चर्चामा आएका घिसिङले आफ्नो स्वार्थमा सहयोग नगरेको आक्रोशमा मन्त्री खड्का उनलाई हटाउन खोजिरहेका छन् ।