मिडियामा देखापरेको अराजकता रोक्न नियमन गर्ने विधेयक ल्याउँछौं: सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अनलाइन मिडियामा देखापरेको अराजकतालाई नियमन गर्न सरकारले सोसल मिडिया प्रयोग सञ्चालन र नियमन गर्ने विधेयक ल्याउन लागेको बताएका छन् ।
शनिवार काठमाडौंमा नेपाल आर्थिक पत्रकार संघको १५ औं साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रिन्ट मिडिया र बोर्ड कास्टिङ मिडियाले राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचनाहरु, जनताको सूचनाको प्रत्याभुति गरिरहेको भएपनि अनलाइन मिडियाहरुले अराजकता मच्चाउने काम गरिरहेको बताए ।
उनले भने, ‘मलाई एउटा चिजले धेरै सताइरहेको छ । हामीलाई प्रिन्ट मिडियाले कुनै प्रोब्लम पारेको छैन । बोर्ड कास्टिङ मिडियाले पनि कुनै प्रोब्लम पारेको छैन । राज्यलाई गर्नुपर्ने आलोचना, दिनुपर्ने सूचनाहरु, जनताको सूचनाको प्रत्याभुति गर्दै जेजे कुराहरु गरिरहेको छ, त्यसमा हाम्रो कुनै ठूलो गुनासो, आलोचना र टिप्पणी छैन । तर आलोचना र टिप्पणी त कहाँनेर छ भने अनलाइन मिडिया, इन्टरनेट मिडिया जेजे भन्छौँ हामी, त्यो मिडियामा देखापरेको जुन खालको अराजकता अनुशासनहिनता छ, त्यसको नियमन आज सबैभन्दा जरुरी देखिन्छ । ’
यस्तै उनले मिडियाले गर्दा हाम्रो राष्ट्रिय स्वाधिनतामाथि प्रश्न उठिरहेको बताए ।
उनले भने, ‘राष्ट्रिय स्वार्थमाथि प्रश्न उठिरहेको हुन्छ, हाम्रो जस्तो सामाजिक संरचना भएको मुलुकमा जुन खालको सामाजिक सद्भाव, धार्मिक सहिष्णुता छ, त्यसका माध्यमबाट बारम्बार भत्काउने प्रयत्न भइरहेको देखिन्छ । हाम्रो समाजको जुन सांस्कृतिक चरित्र छ, हामीले सोसल मिडिया प्रयोग सञ्चालन र यसलाई नियमन गर्ने विधेयक क्याबिनेटले पास गरिसकेको छ, संसद नभएकाले अड्किएको छ । मेरो त आग्रह छ, प्रधानमन्त्रीसँग बारम्बार भनेको छु, अहिले अध्यादेशबाट ल्याइहालौँ । संसदबाट संसद चलेपछि पास गरौँला । आजको आजै नियमन थाल्नुपर्छ । साइबर क्राइम नियमन गर्ने खालको ऐन पनि छैन । साइबर क्राइमलाई नियन्त्रण गर्ने ऐन आज सबैभन्दा बढी चाहिएको छ ।’
मन्त्री गुरुङले साइबर क्राइम नियमन गर्ने ऐन पनि ड्राफ्ट भइरहेको र छिटै मन्त्रीपरिषद्बाट पारित हुने विश्वास व्यक्त गरे ।