पोखरा र भैरहवा विमानस्थललाई हवाई रुट चाहियो: परराष्ट्रमन्त्री राणा

No ads found for this position
No ads found for this position

नयाँदिल्ली। भारत-नेपाल आर्थिक सम्मेलन (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स)मा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले भारततर्फबाट अतिरिक्त हवाई रुट चाहेको बताएकी छन् ।

भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्सलाई सम्बोधन गर्दै मन्त्री डा. राणाले यस्तो बताएकी हुन् । उनले सम्बोधनका क्रममा नेपालले भारतबाट थप हवाई रुटको अपेक्षा गरिरहेको जानकारी त्यहाँ गराएकी हुन् ।

‘हामीले नेपालका पोखरा र लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौँ । ती दुवै संसारकै लोकप्रिय सहर हुन् । पोखरा पर्यटन नगरी हो भने लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो’, उनले भनिन्, ‘ती विमानस्थलबाट पर्यटन मात्र नभएर समग्र सम्पर्क विस्तार गर्न चाहन्छौँ । त्यसैले नेपाल यी दुई विमानस्थललाई पूर्ण क्षमतामा चलाउन थप हवाई रुट चाहेका छौँ।’

नेपालले ती विमानस्थल महङ्गो खर्चमा निर्माण गरेकाले पूर्ण क्षमतामा चलाउन छिमेकीसँग सहयोगको याचना गरिरहेको बताउँदै उनले भारतीय एयरलाइन्सलाई नेपालमा थप उडानका लागि आग्रह गरिन् ।

उनले नेपाल सरकारले भारतका निजी एयरलाइन्सहरूलाई नेपालमा उडानका लागि आग्रह गर्दै नेपाल सरकारले यसका लागि धेरै भन्दा धेरै सहुलियत प्रदान गर्ने जानकारी पनि गराइन् ।

यी विमानस्थलहरू सञ्चालनमार्फत् पर्यटन प्रवर्द्धनसँगै दुई देशका जनता जनताबीचको सम्पर्क र सम्बन्धलाई थप विस्तारित गर्ने मन्त्री डा. राणाले बताइन् ।

नेपालले अतिरिक्त हवाई रुट पाएर दुवै विमानस्थल पूर्ण क्षमताका साथ सञ्चालनमा आउन सके दुवै देशका पर्यटकीय सम्भावना थप उजागर हुने उनको विश्वास छ । यसले दक्षिण एसियाकै कनेक्टिभिटीमा पनि थप सहयोग पुग्ने उनले बताइन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *