‘एक्टर’का नव नायक प्रिन्स थापा मगरलाई अन्याय, पहिलो गाँसमै ढुङ्गा

No ads found for this position
No ads found for this position

काठमाडौं – आगामी माघ महिनामा करिव आधा दर्जन नेपाली फिल्महरु हलमा प्रदर्शन हुने क्रममा छन् । तीमध्ये माघ ४ गते एक साथ दुई फिल्म प्रदर्शन हुँदैछन् ।

‘एक्टर’ र ‘फिरफिरे फिरीरी’ एकै दिन रिलिज हुँदैछ भने माघ ११ गतेदेखि ‘केटी हराएको सूचना’ तथा माघ १६ गतेदेखि फिल्म ‘एक्टर’ प्रदर्शनमा आउने निश्चित छ । माघ महिनामा प्रदर्शन हुने भनिएका यी फिल्ममध्ये दुई वटा फिल्मको नाम अर्थात शीर्षक एउटै छ– ‘एक्टर’ । यो कुराले आम दर्शकमा द्विविधा बढाउने निश्चित छ ।

चलचित्र विकास बोर्डले हालै सार्वजनिक गरेको भिडियो सामग्रीमा आगामी महिना प्रदर्शन हुने फिल्मको सूची प्रस्तुत गरिएको छ, जसमा यी दुबै फिल्महरु क्रमशः माघ ४ गते तथा माघ १६ गतेदेखि प्रदर्शन हुने उल्लेख छ । एउटै नाम गरेको दुईवटा फिल्म हलमा आउने भएपछि सबै भन्दा ठुलो अन्याय माघ ४ गते प्रदर्शनमा आउने फिल्म ‘एक्टर’का नायक प्रिन्स थापा मगरलाई पर्ने देखिन्छ । पहिलो गाँसमै ढुंगा भने झै प्रिन्स थापा मगरको डेब्यु फिल्म अब के हुन्छ सर्वत्र कौतुहल्ताको बिषय बनेको छ ।


यतिबेला फिल्म क्षेत्रमा नयाँ प्रश्न जन्मिएको छ, एउटै महिला १२ दिनको अन्तरमा एउटै शीर्षकका दुई वटा भिन्न फिल्म कसरी बने ? चलचित्र विकास बोर्डमा कसरी शीर्षक दर्ता भयो ? अनि एउटै महिना दुई साताभन्दा कम समयको अन्तरालमा कसरी प्रदर्शन हुने संयोग जुर्यो ?

एउटै शीर्षकका यी दुई फिल्मका बारेमा जिज्ञासा अनेक छन्, तर आधिकारिक जवाफ कसैले पनि दिन सकेका छैनन् ।
प्रदीप खड्का, आना शर्मा, राज बल्लभ कोइराला आदिको प्रमुख भूमिका रहेको फिल्म राजन भुसालद्वारा ‘एक्टर’ ९ब्प्त्इच्० को निर्माणको चर्चा हुँदै गर्दा अघिल्लो वर्ष नै मदन घिमिरेद्वारा निर्देशित प्रिन्स थापा मगर, कविता नेपाली, शिवानी गिरी, कशिस दाहाल, कृष्ण मल्ल लगायतको अभिनय रहेको फिल्म ‘एक्टर’ को सेन्सर पास भैसकेको थियो ।

अघिल्लो वर्ष नै सेन्सर पास भएको फिल्मको शीर्षकसंग हुबहू मिल्ने शीर्षक राखेर अर्को ‘एक्टर’ कसरी दर्ता भयो त ? यहाँनिर राजन भुसाल निर्देशित ‘एक्टर’ ले चलचित्र विकास बोर्डमा फिल्मको शीर्षक दर्ता गर्दा केही चलाखीपूर्ण कदम चालेको बोर्डकै एक पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । ती कर्मचारीका अनुसार प्रारम्भमा यो फिल्मको शीर्षक ‘आइ एम अ एक्टर’ थियो । यही शीर्षक दर्ता पनि भयो । तर केही समयपछि नै फिल्मको निर्माण टिम आएर यो शीर्षक परिवर्तनका लागि आवेदन दियो । त्यसपछि फिल्मको नाम ‘एक्टरः टेक वान’ राखियो ।

मदन घिमिरेको निर्देशनका बनेको ‘एक्टर’ का निमार्नताहरुमध्येका एक जनाले अनौपचारिक कुराकानीको क्रममा भनेका छन्– ‘टेक वान भन्ने शब्द यति सानो गरि राखिएको छ, दर्शकहरु झुक्किरहेका छन् ।’ ती निर्माताका अनुसार उनीहरुको फिल्म पछिल्लो समय च्यारिटी शोहरुमै व्यस्त थियो । तर माघ १६ गते आफ्नो फिल्मको शीर्षकसंग हुबहू मिलेको अर्को फिल्म प्रदर्शन हुने भएपछि उनीहरुले माघ ४ गतेलाई प्रदर्शन मिति तोकेका हुन् । ‘हामीले हतार हतार यो मितिमा फिल्म चलाउनु पर्यो, हामी आरामले फागुनको अन्तिममा फिल्म प्रदर्शन गर्नु पर्ला भनेर बसेका थियौं, उनको गुनासो छ ।

त्यसो त प्रदीप खड्काले पृथक भूमिका निर्वाह गरेको ‘एक्टर’ यसअघि गत कार्तिक १५ गते अर्थात लक्ष्मीपूजाकै दिनदेखि प्रदर्शनमा आउनु पर्ने थियो । तर त्यो बेला मिति परिवर्तन गरि माघ १६ गतेलाई नयाँ प्रदर्शन मिति तोकिएको हो । उक्त मितिमा अन्य केही फिल्महरुसंग जुध्नु पर्ने, फिल्मको प्राविधिक कार्य बाँकी रहेको तथा फिल्मको यूनिटका केही सदस्यहरु अस्वस्थ रहेको कारण देखाउँदै ‘एक्टर’ को प्रदर्शन मिति तीन महिना पछाडि सारिएको थियो ।

नेपाल डायस्पोरा इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘एक्टर’ मा टेलिभिजन पत्रकार मनोहरी थापा तथा संगीतकार सम्राट थापाको लगानी छ । यो फिल्मबाट संगीत संयोजकसमेत रहेका सम्राट थापाका छोरा प्रिन्स थापा मगरले अभिनेताको रुपमा डेब्यू गर्दैछन् । निर्देशक घिमिरेका अनुसार उनको यो फिल्मको सेन्सर नै अघिल्लो वर्षको पुस महिनाको अन्तिम साता गरिएको थियो । फिल्म प्रदर्शनका लागि स्वीकृती पत्र प्राप्त गरिसकेको ‘एक्टर’ प्रदर्शनको तयारी गरुञ्जेलसम्म पनि दोस्रो ‘एक्टर’ को नाम नै दर्ता गरिएको थिएन । तर फिल्मको कलाकार भने फाइनल गरिसकेको थियो ।

आधुनिक परिवेशको प्रेम, रोमान्स, थ्रिलर्स, सस्पेन्ससहित मनोरञ्जनपूर्ण बनेको ‘एक्टर’ ले विभिन्न स्थानमा गरिएको च्यारिटी शोबाट राम्रो प्रशंसा पाएको निर्माण संस्थाको दावी छ । राजन भुसालको निर्देशनमा बनेको ‘एक्टर’ का निर्मातामा थमन कुमार भण्डारी, मोती कार्की रहेका छन् ।
‘एक्टर’ नाम राखेर पहिला आफूले मदन घिमिरेलाई निर्देशकमा राखेर चलचित्र विकास बोर्डमा शीर्षक दर्ता गरिएको यो फिल्मका निर्माताहरुको भनाई छ । हुन पनि विकास बोर्डको दर्ता सूचिमा पनि मदन घिमिरे निर्देशित ‘एक्टर’ नै पहिला नै दर्ता भएको देखिन्छ । तर आफ्नो फिल्मको नाम ‘एक्टर’ हुँदा–हुँदै अर्को फिल्मको नाम पनि ‘एक्टर’ नै राखेर निर्माण गर्न विकास वोर्डले कसरी स्विकृति दियो ? बोर्डको यसप्रकारको कार्यले आफूहरुलाई अन्यायमा पारेको ती निर्माताको गुनासो छ ।

त्यसो त ‘एक्टर’ मा दुई फिल्म निर्माण भएपछि पदिप खड्का अभिनित एक्टरको अंग्रेजी अक्षरको ‘सि’ लाई परिवर्तन गरेर ‘के’ राखिएको छ । यो कुरा पनि अघिल्लो वर्ष नै चासोको विषय बनेको थियो । यो कुराले विवादको रुप लिने देखिएपछि ‘एक्टर’ नाम बोल्ड गरेर सानो अक्षरमा ‘टेक वान’ थपेर फिल्म बिकास बोर्डमा दर्ता गराइएको हो । ‘टेक वान’ थपिएकाले नै दर्ता भएको विकास बोर्डको भनाई छ भने मुल शीर्षक एउटै हुनु हुँदैन थियो भन्ने भनाई अघिल्लो वर्ष नै सेन्सर पास भएको ‘एक्टर’ टीमको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *