एमाले र रास्वपाले इलामको विकासलाई निकास दिन सक्दैन : अध्यक्ष गुरुङ
काठमाडौं- वैशाख १५ गते हुने इलाम- २ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई जिताउन नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सबैलाई आग्रह गरेका छन्।
शनिवार इलाममा आयोजित तरुण दलको भेलालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले तरुण दलका नेताहरूलाई यस्तो निर्देशन दिएका हुन् । उनले इलामको उपनिर्वाचनको पछिल्लो अवस्थाको बारेमा डम्बर खड्कालाई जिताउन जिल्लामा खटिएका तरुण नेताहरूसँग जानकारी लिएका थिए ।
जिल्ला अध्यक्ष नरेश श्रेष्ठले फ्लोर खुल्ला भएको जानकारी गराउँदै इलामको ४२ ओटै वडामा खटिएको तरुण संयोजकहरूले अध्यक्ष गुरुङलाई चुनावी परिणाम नेपाली कांग्रेसको पक्षमा आउने जानकारी गराएका थिए।
अध्यक्ष गुरुङले यदि नेपाली कांग्रेसकै मत बाँडिने सम्भावना रह्यो भने तरुण दलले रोक्न सक्नुपर्ने बताए ।
इलाममा कांग्रेस बाहेक अरू कुनै पनि पार्टीले विकासलाई निश्चित विन्दुमा पुर्याउन नसक्ने कुरा बताउँदै उनले डम्बर खड्कानै इलामको लागि उपयुक्त व्यक्ती भएको बताए । अध्यक्ष गुरुङले सहकारीको फाइल बन्द गराउन जिवि राइको हत्या हुनसक्नेमा आफूलाई शङ्का लागेको बताए ।
अध्यक्ष गुरुङले भने, “पार्टी भित्र अन्तर्घात हुने अवस्था देखिए त्यस्तो व्यक्तिलाई बोरामा हालेर वारि बाट पारि कान्लामा पुग्ने गरी फाल्दिए हुन्छ । त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु। इलाममा कांग्रेसको जित सुनिश्चित गराउन तरुणको भूमिका प्रभावकारी हुनेमा म विश्वस्त छु।”
अध्यक्ष गुरुङले कुनै पनि बहानामा तरुणहरूलाई चुनावी परिचालनमा कमी कमजोरीको छुट नभएको बताए ।
नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाइ अङ्कित गर्दै गुरुङले भने, ‘विदेशमा बसेर आएको व्यक्तिलाई बाबुको सम्पत्तिमा हक लाग्न सक्छ तर राजनीतिक विरासतको रूपमा जनताले अनुमोदन गर्दैनन् । आगामी चुनावको मत परिणाम बाट इलामको जनताले कांग्रेसको रुख चिन्हमा छाप लगाइ जनताले देखाइदिने छन्।’
कार्यक्रममा नेपाली कांग्रेसका कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ, प्रदेश सांसद खगेन सिंह लगायतले आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय सदस्य नीरज निरौलाले इलाममा डम्बर खड्काको विकल्प नभएको बताए।